राजनीति

‘राजनीति जसरी नै न्यायालय पनि बिग्रँदै गयो’

कृष्णप्रसादको न्यायालय कैरन

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी अहिले सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गर्ने वकिल हुन् । उमेरले सय वर्ष पुग्न ६ वर्ष बाँकी तर जोस र जाँगर उस्तै रहेका वरिष्ठ अधिवक्ता भण्डारी भन्छन्, ‘म एक छिन पनि खाली बस्न सक्दिनँ ।’ बिहान खाना खाएपछि ११ देखि ३ बजेसम्म आफ्नो दशकौं पुरानो नेपाल ल फर्ममा रहने गर्छन् उनी । पहिला आवश्यकताअनुसार सर्वोच्च जाने गर्थे । अचेल प्रतिनिधिसभा विघटनको बहस सुन्न उनी प्रायः दिनको एकपटक सर्वोच्च पुगेका हुन्छन् र अन्य झगडियाका मुद्दा पनि हेर्ने गर्छन् ।

सर्वोच्चमा प्रतिनिधिसभा विघटन मुद्दामा रिट निवेदक तर्फका ७२, प्रधानमन्त्री तर्फका ३२, महान्यायाधिवक्ता र सरकारी वकिल तर्फबाट ११ जना, सभामुख तर्फबाट ३ जना र ‘एमिकस क्युरी’ तर्फबाट पाँच जनाको बहस सकिएको छ । ‘घरभित्र दूषित पदार्थ भएमा सफा गर्नुपर्छ, घरमा आगो लगाउने काम गर्नुहुँदैन,’ प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको विवादका कारण प्रतिनिधिसभा भंग गरेको प्रसंगमा उनी भन्छन्, ‘प्रधानमन्त्रीको लिखित जवाफ पार्टीले सहयोग गरेन भनेर आउँछ तर महान्यायाधिवक्ताको कार्यालयबाट संसद्ले सहयोग गरेन भनेर आउँछ ।’

साराले विरोध गरेको संसद् विघटनको विषय बुझिनसक्नु भएको उनले बताए । ‘प्रणाली छैन, सन्तुलन र नियन्त्रण छैन, न औचित्य छ न विकास छ यहाँ, त्यसैले राजनीति जसरी बिग्रँदै गएको छ, न्यायालय पनि त्यसरी नै बिग्रँदै गएको छ,’ उनले भने, ‘मैले चौबिसे राजाको फैसला पढेको छु, किराती राजाको फैसला र राणाकालका फैसला पढेको छु तर त्यहाँ औचित्यविपरीत फैसला भएको छैन । अहिले कानुनले काम गरेको छैन, कानुनभन्दा माथि औचित्य हुन्छ, न्याय पाउन औचित्य र विकास हुनुपर्छ । संविधान र कानुनलाई बेवास्ता गरेर औचित्य र विकासलाई हेर्नुपर्छ ।’ पञ्चायतमा राजा महेन्द्र धेरै सोच पुर्‍याउने मान्छे लाग्छ, न्यायालयलाई कहिल्यै छोएको मलाई थाहा छैन । पञ्चायती व्यवस्थामा यस्ता फैसला पनि छन्, जुन पञ्चायतको बर्खिलापमा पनि फैसला भएका छन् ।

राजाका सचिवले अदालतलाई दबाब दिन्थे तर राजाले कहिल्यै दिएनन् । अदालतलाई मात्र होइन, वकिललाई पनि राजा महेन्द्रले छोएनन् । विश्वेश्वरप्रसाद कोइरालाले पनि न्यायलयलाई कुनै प्रभाव पार्ने काम गरेनन् उनको पालामा न्यायालय राम्रो थियो । विश्वनाथ उपाध्याय राम्रा प्रधान्यायाधीश भएको उनी बताउँछन् । ‘तर विश्वनाथ प्रधानन्यायाधीश हुँदा अन्य न्यायाधीश राम्रा थिएनन्,’ भण्डारी भन्छन्, ‘विश्वनाथबाट अरू न्यायाधीशलाई कडाइ भएन ।’ उनका अनुसार केदारनाथ उपाध्याय पनि राम्रा न्यायाधीश थिए । हरिप्रसाद प्रधान र अर्जुनप्रसाद सिंह सुधारवादी न्यायाधीश हुन् । गोपाल पराजुली घुस खान्थे तर राम्रा न्यायाधीश मानिन्थे । दुई प्रतिशत घुस खाए पनि ९८ प्रतिशत राम्रो फैसला गर्थे । घुस नखानेले न्याय राम्रो गरेको छैन, बुद्धि हुँदैन । अहिले घुस खाँदैनन् तर न्याय दिन पनि सक्दैनन् । मैले कैयौं न्यायाधीशलाई देखें, भ्रष्ट छन् तर ज्ञान र विद्या उच्च कोटीको छ, धेरै मुद्दामा तिनले न्याय गर्थे ।

६६ वर्ष वकालत गरेका वरिष्ठ अधिवक्ता भण्डारी अदालतमा बहस गर्न जाँदा प्रधानमन्त्री केपी ओलीले ‘हुँदा हुँदा बाजे वकिललाई पनि लगेर तमासा देखाएछन्’ भनेर टिप्पणी गरेका थिए । त्यसपछि अदालतमा बहस गर्दा वरिष्ठ अधिवक्ता भण्डारीले भनेका थिए, ‘के म तमासा देखाउन आएको हुँ, श्रीमान् ?’ उनी सधैं निरंकुशताविरुद्ध लडिरहेका वकिल हुन् । पञ्चायती व्यवस्थामा पनि शासकले प्रजातन्त्रप्रेमी नेतामाथि मुद्दा चलाउँदा उनी त्यस मुद्दाको विपक्षमा बहस गर्ने वकिल थिए । भण्डारी तिनै वकिल हुन्, जसले झापा आन्दोलनका बेला प्रधानमन्त्री ओलीविरुद्ध लागेको ज्यान मुद्दाको बहस गर्न धनकुटासम्म पैदल यात्रा गरेका थिए र सो मुद्दाको बहस गर्न उनी सर्वोच्चसम्म आइपुगेका थिए ।

पुतली सडकमा नेपाल ल फर्ममा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले धेरै लामो समय काम गरेका छन् । उनले भनेका छन्, ‘मेरो ल फर्मबाट धेरै वकिल उत्पादन भएका छन् ।’ सर्वोच्चका पूर्वन्यायाधीशद्वय प्रकाश वस्ती, भरत उप्रेती, वरिष्ठ अधिवक्ता हरिहर दाहाल सबैले यही ल फर्मबाट वकालत सिकेका हुन् ।

कुनै पनि कुरामा सन्तुलन र नियन्त्रण हुनुपर्ने उनी बताउँछन् । अहिले नेपालमा कुनै पनि क्षेत्रमा सन्तुलन र नियन्त्रण नभएकाले समस्या परेको उनको भनाइ छ । नेपालमा २०२८ सालसम्म न्यायालय धेरै माथि थियो । ‘न्यायालयमा पहिलो अमेरिका, दोस्रो बेलायत र तेस्रो नेपाललाई नै मान्छु,’ उनी भन्छन्, ‘हामी बहस गर्दा सामूहिकतामा जान्थ्यौं, मसँग धेरै वकिल थिए, सबैको सामूहिक भावना थियो, न्यायसेवामा धेरै राम्रा मानिस थिए ।’

तत्कालीन प्रधानन्यायाधीश नैनबहादुर खत्रीपछि न्यायलयमा खराबी आउन थालेको उनले सुनाए । ‘नैनबहादुरले सुरु गरेको असली वकिललाई मुद्दा नजिताउने अभ्यास अहिले पनि कायम छ । नैनबहादुरले वकिललाई विभाजित गरिदिए, सहयोग गरेनन्,’ उनी भन्छन् ।

खत्रीले वकिलको अनुहार हेरेर मुद्दा हराउने काम गरेपछि मेरो र उनीबीच टसमस भएको थियो भन्दै वरिष्ठ अधिवक्ता भण्डारीले भने, ‘न्यायाधीशलाई रिस उठेको वकिल छ भने उसले कहिल्यै मुद्दा जित्न नसक्ने अवस्था सृजना भएकाले न्यायालय माथि जान सकेन ।’ अहिलेका न्यायाधीश बढी र वकिल कम भ्रष्ट रहेको उनी बताउँछन् । ‘अहिले वकिलमा बहुसंख्यक असल र थोरै खराब छन्,’ उनले थपे, ‘अदालतमा बहुसंख्यक खराब र थोरै मात्र असल मान्छे छन् ।’ उनले आफू युवा वकिल हुँदाका अवस्थालाई सम्झिँदै भने, ‘हाम्रा पालामा पैसा भए पैसा लिन्थ्यौं नभए त्यसै पनि बहस गथ्र्यौं ।’

नेपाल ल फर्ममा कृष्णप्रसाद भण्डारी, कुसुम श्रेष्ठ, वासुदेव ढुंगाना, कृष्णप्रसाद पन्त र मधु शर्माको समूह थियो । उनीहरूले नयाँ वकिललाई जहिले पनि राम्रा मुद्दा हेर्न दिएका थिए । उनी ती दिन सम्झँदै भन्छन्, ‘हामीले कसैको पनि ढोका बन्द गरेनौं । बेलायत र भारतमा वकिल नातावादबाट  

छन् भने अमेरिकामा कम्पनीअनुसार छन्, नेपालमा पहिला नातावाद थिएन । नयाँ वकिललाई झगडियासँग भिडाउँथ्यौं, नयाँ मुद्दा दिन्थ्यौं, नयाँ वकिलमा आउन प्रोत्साहन गर्दथ्र्यौं ।’ २०४६ पछि न्यायाधीशमा भ्रष्टाचार सुरु भएको उनी बताउँछन् ।  

जोसँग पैसा छ, त्यो बलियो हुन पुगेको उनको अनुभव छ ।

अहिले वकिलहरू व्यक्तिवादी हुन थालेको उनी बताउँछन् । अहिले ५० प्रतिशत महिला वकिलका पति वकिलै छन् । राम्रो मुद्दा पतिले पत्नीलाई दिँदैनन् । ‘म राम्रो मुद्दा छोरीलाई दिन्छु,’ उनी भन्छन्, ‘त्यसैले राम्रो वकिलको उत्पादन हुन पुग्छ ।’ विश्वकान्त मैनाली, श्रीहरि अर्याल, सिन्धुनाथ प्याकुरेल लोकप्रिय वकिल थिए । उनीहरूका मुद्दा न्यायाधीशले जिताउँथे । नेपालमा कति गरिबले न्याय पाएजस्तो लाग्छ ? भन्ने प्रश्नको जबाफमा उनले भने, ‘अहिले व्यक्तिवादी भएको र प्रजातन्त्र आएपछि असली फैसला आउन सकेको छैन ।’ आचारकै कारण पन्जावमा हाइकोर्टको निम्ता हुँदा आफूलगायत वकिल नगएको पनि उनी बताउँछन् । ‘न्यायमा पहुँच र उदारीकरण विषयको छलफलमा हामीले भाग लिएनौं,’ उनी भन्छन्, ‘सिन्धुनाथ प्याकुरेल नेपाल बारको अध्यक्ष हुनुहुन्थ्यो, हामी एउटा इथिक्समा बसेका थियौं ।’

सन् १९६० मा उत्तरी छिमेकी राष्ट्र चीनका तत्कालीन राष्ट्रपति माओत्सेतुङसँग हात मिलाएको उनी बताउँछन् । सरकारी पासपोर्टमै उनी चीन पुगेका थिए । ‘सांस्कृतिक प्रतिनिधि मण्डलमा चीन पुगेर २२ दिन बस्दा माओत्सेतुङसँग हात मिलाएको छु,’ उनले सुनाए । त्यतिबेला चीनको एलो नदी भनेर चिनिने ह्वाङहो नदीमा बाढी आएको थियो, बाढीले धेरैको घरबार गुमेको थियो, त्यो ठाउँ हेर्न आफूहरूलाई चीन सरकारले  

लगेको उनी बताउँछन् । ‘त्यहाँ मानिसहरू सुँगुरसँग सुतेको देख्दा मलाई ज्यादै दया लागेर आयो,’ उनले भने, ‘भर्खर विकासको गतिमा लम्किरहेको चीनमा धेरै गरिबी थियो । त्यसबेला चिनियाँ जनताले धेरै दुःखको काम गर्नुपथ्र्यो ।

उनी रसियामा पनि बसेका छन् । रसियाले जलविद्युत्मा गरेको विकासको अध्ययन गरेको उनी बताउँछन् । ‘दक्षिण अमेरिकामा मात्र मैले खुट्टा हाल्न पाएको छैन । अमेरिका, युरोप, एसिया पानी पँधेरो हो, अस्ट्रेलिया पनि २०/२२ दिन बसेको छु,’ उनले भने, ‘अमेरिकामा प्रजातन्त्र छ र त्यहाँ विकास छ । त्यहाँको न्यायालय उत्कृष्ट छ ।’

१९९८ जेठ २८ गते जन्मेका उनी नेपाल ल क्याम्पसको पहिलो ब्याज हुन् । २०१४ साल वैशाख ३० गते अधिवक्ताको लाइसेन्स प्राप्त गरेका उनले अहिले पनि वकालत गरिरहेका छन् । नयाँ बानेश्वर थापा गाउँ बस्ने उनी पैदल हिँडेरै नेपाल ल फर्म पुतली सडकमा आउने गर्छन् । दुई वर्षदेखि हातमा लट्ठी टेकेर हिँड्ने गर्छन् उनी । उनका दुईवटा कार छन् । आफू कारमा नचढी हिँडेरै ल फर्म र अदालत जाने गरेका छन् । ‘कार मेरा छोराबुहारी चढ्छन्,’ उनी भन्छन्, ‘मेरो खुट्टालाई बलियो बनाउन हिँड्ने गरेको हुँ, हिँडिनँ भने राति निद्रा पर्दैन ।’

प्रकाशित: ८ फाल्गुन २०७७ ०१:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App