राजनीति

कि राजनीति छाडौं कि चुनावको तयारीमा लागौं : देउवा

नेपाली कांग्रेसस नुवाकोटको पार्टी कार्यलय उद्घाटन समारोह। तस्बिरः नागरिक

नेपाली कांग्रेससका सभापति शेरबहादुर देउवाले निर्वाचनको तयारीमा जुट्न सबै नेता कार्यकर्तालाई आग्रह गरेका छन्। शुक्रबार नेपाली कांग्रेस नुवाकोटको पार्टी कार्यालय उद्घाटन गर्न आएका सभापति देउवाले ‘निर्वाचन हुँदैन हुँदैन भन्दाभन्दै भइहाल्यो भने चुनावको तयारी नपुग्ने भएकोले अहिलेदेखि नै तयारी थाल्नुपर्ने’ बताए। ‘कि राजनीति छाडौँ कि चुनावको तयारीमा लागौं। २ वर्षपछि होस् कि अहिले होस् चुनाव भएरै छाड्छ। त्यसैले चुनावको तयारी गर्दैमा केही बिग्रदैन,‘सभापति देउवाले भने,‘चुनावसित डराएर हुँदैन। संसद विघटन गराउन सक्ने प्रधानमन्त्रीले चुनाव पनि गराउन सक्नुपर्छ।’

नेपाली कांग्रेससका नेता तथा कार्यकर्ताहरु केपी शर्मा ओलीको विरुद्धमा बोल्न थालेको भएपनि  पुष्पकमल दाहाल प्रचण्डको विरुद्धमा बोल्न अझै हिच्किचाउने गरेको भन्दै सभापति देउवाले भने, ‘प्रचण्ड र ओलीको विरुद्धमा बोल्न सक्ने पार्टी कांग्रेससलाई बनाउन चाहान्छु। हिम्मतवाला पार्टी बनाउनु आबश्यक छ।’

नेपाली कांग्रेससलाई निर्वाचनमा अन्य पार्टीले भन्दा पनि आफ्नै पार्टीको नेता कार्यकर्ताबीचको मनमुटाबले हार्नुपरेको तितो यथार्थ सुनाउँदै सभापतिले अबको दिनमा त्यस्तो गल्ति गर्न नहुने बताएका छन्। निर्वाचनमा उम्मेदवार छनौट गर्दा एकापसमा छलफल र सहकार्य गर्ने प्रतिवद्धता समेत जनाए।  

यस्तै कार्यक्रममा नेपाली कांग्रेससका पूर्व महामन्त्री प्रकासमान सिंहले जनताले दिएको अवसरलाई सदुपयोग गर्न कम्युनिस्टले नसकेको बताएका छन्। गत पुस ५ गते संसद विघटन गरेर कम्युनिस्ट नेतृत्वको सरकार असक्षम र नालायक हो भन्ने जानकारी दिएको उनको भनाई छ।  

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले लोकतान्त्रिक आन्दोलनमा निरन्तर सङ्घर्षरत रहेको बताएका छन्। साथै केसीले अबको निर्वाचनबाट नुवाकोटको दुईवटै निर्वाचन क्षेत्र कांग्रेससको किल्ला हुने विश्वास समेत व्यक्त गरेका छन्। यस्तै केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री डाक्टर रामशरण महतले कम्युनिस्ट पार्टीको आन्तरिक किचलोको कारण देशलाई अस्थिरता तर्फ धकेलेको बताएका छन्।  

प्रकाशित: ७ फाल्गुन २०७७ १३:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App