राजनीति

काम चलाउ सरकारले प्रदेश प्रमुख बर्खास्त र नियुक्तिजस्ता काम गर्नै मिल्दैन : कांग्रेस

नेपाली कांग्रेसले प्रदेश नम्बर २ मा भएको प्रदेश प्रमुख बर्खास्ती र नियुक्तिको विरोध गरेको छ। सरकारले तिलक परियारलाई पदमुक्त गरेर रौतहटका राजेश झालाई प्रदेश प्रमुखमा नियुक्ति दिएकाेप्रति कांग्रेसले विरोध जनाएको हो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ,‘मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुखको आज गरिएको बर्खास्ती र नयाँ नियुक्तिको नेपाली कांग्रेस विरोध र भत्सर्ना गर्दछ।’

सरकारले प्रदेश प्रमुखको गरिमा घटाउँदै लगेको कांग्रेसको ठहर छ। कांग्रेसले निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्तितर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक भएको बताएको छ।

‘सरकारले एकातर्फ प्रदेश प्रमुखको गरिमा थप घटाउंदै जाने कर्म गरेको छ भने निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्ति तर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक छ,’ विज्ञप्तिमा उल्लेख छ।

संसद विघटपछि कामचलाउ स्थितिमा पुगेको सरकारले बर्खास्त र नियुक्ति काम गनै नमिल्ने कांग्रेसको तर्क छ। ‘संसद विघटनको असंवैधानिक कदम पश्चात् काम चलाउ स्थितिमा पुगेको सरकारले यसरी बर्खास्त, नियुक्ति आदि काम गर्न विल्कुलै मिल्दैन र पाइन्न, विज्ञप्तिमा भनिएइको छ,‘अतः यसप्रति कडा विरोध जनाउंदै नेपाली कांग्रेस स्वेच्छाचारी ढंगले गर्ने यस्ता कार्य अविलम्ब रोक्न सरकारलाई चेतावनी दिन चाहन्छ।’

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार तिलक परियारलाई पदमुक्त गरेर रौतहटका राजेश झालाई प्रदेश नम्बर २ को प्रमुखमा नियुक्त गरेकी थिइन्।

प्रकाशित: ७ फाल्गुन २०७७ १२:१६ शुक्रबार

कांग्रेस विराेध प्रदेश नम्बर २ प्रदेश प्रमुख