राजनीति

नेकपा ओली समूहले ताप्लेजुङमा गर्‍यो कमिटी पुनर्गठन

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को ओली समूहले संविधानसभा सदस्य भूपेन्द्र थेबेलाई अध्यक्ष चयन गर्दै ताप्लेजुङ जिल्ला समिति पुनर्गठन गरेको जनाएको छ। यो समूहले जिल्ला कमिटी उपाध्यक्षमा राधाकृष्ण पौडेल र सचिवमा दीपेन पोमूलाई चयन गरेको छ। १ सय २८ जना नयाँ सदस्य थप गरेर उसले २ सय ८३ सदस्यीय समिति रहेको घोषणा गरेको हो। यो समितिमा नेकपा एक हुँदाका पदाधिकारी, कार्यालय टीम, सचिवालय र सदस्यहरु स्वतःसदस्य रहने पनि नेकपाको ओली समूहले घोषणा गरेको छ।  

नेकपाका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्बाङले पुनर्गठित समितिमा थप भएका सदस्यलाइ सपत खुवाएका छन्। पार्टी एक हुँदाका नेकपा जिल्ला कमिटीका अध्यक्ष विजयप्रकाश वनेम, सचिव बलबहादुर साम्सोहाङ, कार्यालय सदस्यहरु मातृकाप्रसाद भट्टराई, सन्तोष खतिवडा, गोपाल थोप्रा, सुरज ओझा र बिरु हाङ्वाङ प्रचण्ड–माधव नेपालमा पक्षमा लागेका छन्। कार्यालय टीममा अध्यक्ष र सचिव समेत स्वतः सहभागी हुने पार्टी बिधान थियो।  

ओली समूहको बैठक तथा सपत कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राज्यमन्त्री ओङ्दी शेर्पाले प्रचण्डको जालझेलका कारण अहिलेको परिस्थिति सृजना भएको भन्दै इमान्दारपूर्वक केपी ओली नेतृत्वको नेकपामा सामेल भइ राष्ट्रियताको अभियानमा लागेको बताए। संविधानसभा सदस्य सञ्चपाल मादेनले केपी ओलीलाई कम्युनिष्ट आन्दोलनमा मदन भण्डारी पछिको राष्ट्रवादी,निडर,साहसी र जनप्रिय नेताको रुपमा चित्रित गर्दै राष्ट्रियताका लागि आफू फेरि ओली नेतृत्वको नेकपामा सामेल भएको बताए। दुबैजना तत्कालिन नेकपा माओवादीबाट संविधानसभामा सदस्य भएका थिए। नेकपाका अर्का केन्द्रीय सदस्य बुद्धिमान परियारले चुनावमा गएर ताजा जनादेश लिऔं भन्नु कसरी प्रतिगमन हो भनेर प्रश्न गरे।  

ओली समूहको भेलामार्फत खुलेका निर्वाचित वडाध्यक्षहरु  

६१ वटा वडा रहेको ताप्लेजुङमा तत्कालिन नेकपा एमालेबाट २७ जना र तत्कालिन नेकपा माओवादी केन्द्रबाट ५ जना वडाध्यक्षमा निर्वाचित भएका थिए। जिल्ला भरीमा २ जना महिला वडाध्यक्ष रहेकामा सिरिजङ्घा वडा नं १ सिनामका उर्मिला थेबे र फुङ्लिङ नगरपालिका वडा नं ५ मा भीमादेवी ओझा ओली समूहमा छन्। यस्तै फुङ्लिङ १० फुरुम्बुका गमहादुर लिम्बू, वडा नं १ का पदमबहादुर सुनुवार, मैवाखोला १ का दुर्गा तामाङ, मैवाखोला ५ का बिष्णु नेयोङ, मेरिङ्देन वडा नं १ का लाक्पातेम्बा शेर्पा, फक्ताङ्लुङ वडा नं २ का हर्कसिह पराजुली, पाथीभरा याङ्वरक वडा नं १ का जीवन खिम्दिङ, मिक्वाखोला वडा नं ४ का भीम लिम्बू, सिरिजङ्घा गाउँपालिका वडा नं ३ का सन्तोष चाम्लिङसहितका वडाध्यक्ष ओली समूहमा खुलेका छन्। 

सिदिङ्वा गाउँपालिका वडा नं ४ साब्लाखुका नन्दलाल गौतम पनि यहिँ समूहमा रहेको भनिए पनि भेलामा सहभागी भने थिएनन्। यो समूहका जिल्ला सदस्य गोपाल न्यौपानेले नेकपाका ३२ जना वडाध्यक्ष मध्ये आफ्नो पक्षमा १७ जना वडाध्यक्ष रहेको दावी गरे । ‘ब्यस्तताले नआउनु भएको हो, निर्वाचित वडाध्यक्षमा हाम्रै बहुमत छ’ उनले भने।  

प्रकाशित: ५ फाल्गुन २०७७ ०५:४८ बुधबार

नेकपा ओली समूह