राजनीति

भाजपा नेताको अभिव्यक्तिप्रति नेपालको आपत्ति

भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री एवं भारतीय जनता पार्टीका नेता विप्लव देवको अभिव्यक्तिप्रति नेपालले आपत्ति जनाएको छ। देवले भाजपाका नेता एवं गृहमन्त्री अमित साहले पार्टी बैठकमा नेपाल र श्रीलंकामा भाजपाको सरकार बनाउने योजना बनाएको अभिव्यक्ति दिएपछि नेपालले आपत्ति जनाएको हो। भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय विदेश मन्त्रालयमा नेपाल–भुटान डेक्स हेर्ने अधिकारीसँग भेटेर यस विषयमा नेपाल सरकारका तर्फबाट आपत्ति जनाएका हुन्।  

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि नेपालले भाजपाका नेताको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरिसकेको पुष्टि गरेका छन्। उनलाई मेन्सन गरिएको ट्विटरका प्रयोगकर्तालाई जवाफ दिँदै ज्ञवालीले औपचारिक रूपमै भारतीय पक्षलाई नेपालको असहमति सन्देश पठाइसकिएको बताएका छन्। उक्त विषयमा राजदूत आचार्यले भारतीय बाह्य मामिला मन्त्रालयका सहसचिव अरिन्दम बाक्चीमार्फत ध्यानाकर्षण गराएका छन्।  

भारतीय मिडियाका अनुसार त्रिपुराका मुख्यमन्त्री देवले भनेका थिए, ‘हामीले राज्यको अतिथिघरमा कुरा गरिरहेका थियौँ।  

जब भाजपाका उत्तर पश्चिम क्षेत्रका सचिव अजय जमवालले भाजपाले भारतका कैयौं राज्यमा सरकार बनाइरहेको बताए, तब साहले जवाफ दिँदै भने– अहिले श्रीलंका र नेपालले हामीलाई छाडेका छन्। हामीले त्यहाँ पनि पार्टी विस्तार गरेर सरकार बनाउनुपर्छ।’ मुख्यमन्त्री देवले अमित साहको नेतृत्वमा कम्युनिस्टहरूको रेकर्ड भंग गर्दै भाजपालाई विश्वकै सबैभन्दा ठूलो र विश्वस्तरीय पार्टी बनाएको दाबी गरेका थिए।  

विपक्षीले भने मुख्यमन्त्रीको अभिव्यक्तिबारे भाजपाको केन्द्रीय नेतृत्वले स्पष्ट पार्नुपर्ने बताएका छन्। उनीहरूले मुख्यमन्त्रीसँग संविधान र प्रजातन्त्रका बारेमा कुनै बुझाइ नै नरहेको बताउँदै मुख्यमन्त्री देवले उद्धृत गरेको अमित साहको अभिव्यक्तिले अन्य मुलुकको आन्तरिक मामिलामा हस्ताक्षेप गरेको स्पष्ट पारेका छन्। विपक्षी नेताहरूले भारतीय गृहमन्त्री साह नेपालविरुद्ध राज्य षड्यन्त्रमा लागेको र यसको प्रमाण संवैधानिक पद धारण गरेको व्यक्तिले दिएको अभिव्यक्ति भएको बताएका छन्।

प्रकाशित: ५ फाल्गुन २०७७ ००:५६ बुधबार

भाजपा नेता अभिव्यक्ति