राजनीति

प्रदेश सरकार शिलान्याशबाट उद्घाटनको चरणमा

प्रदेश १ सरकारले तीन वर्षको अवधिमा प्रदेशमा महत्वपूर्ण उपलब्धी हाँसिल गरेको दाबी गरेको छ।  सोमबार  विराटनगरमा आयोजित प्रदेश १ सरकारको तेस्रो वार्षिक उत्सवका अवसरमा अयोजित विशेष समारोहमा सरकारले तीन वर्षको अवधिमा महत्वपूर्ण उपलब्धि हाँसिल गरेको दाबी गरेको हो।  

विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले शिलान्याशबाट उद्घाटनको चरणमा पुगेको बताए।  मुख्यमन्त्री राईले तीन वर्षपहिले शिलान्यश गरेका आयोजनाहरू धमाधम सम्पन्न हुन थालेकाले सरकार शिलान्यशबाट उद्घाटनको चरण पुगेको दाबी गरे।  राईले संघियताको जग नै प्रदेश संरचना भएकाले प्रदेश संरचनालाई व्यवस्थित बनाउन प्रदेश सरकारले महत्वपूर्ण भूमिका खेलेको बताए।  ‘संघीयता कर्यान्वयनको महत्वपूर्ण आधार प्रदेश संरचनालाई  संस्थागत गर्न प्रदेश सरकार निरन्तर लागि परेको छ।’  

मुख्यमन्त्री राईले  तीन वर्षको अवधिमा प्रदेश सरकारले  २ सय ३२ वटा काममा उपलब्धी हाँसिल  गरेको बताए।  प्रदेश सरकारले हाते पुस्तिकामा प्रदेश सरकारले गरेका कामबारे विस्तृतमा उल्लेख गरेको राईले जानकारी दिए।  जसमा प्रदेश सरकारले १ सय २३ वटा कानुन निर्माण गरेको छ।  बजेट मार्फत ल्याइएका विभिन्न कार्यक्रमले गरिबी निवारण, भौतिक पूर्वाधार निर्माण लगायतका काममा महत्वपूणए उपलब्धी हाँसिल गरेको राईले बताए।  उनका अनुसार  सरकार स्थापना हुँदा प्रदेश १ को प्रतिव्यक्ती आय ९ सय ८० डलर रहेकोमा सरकारको मध्यावधी समिक्षामा प्रतिव्यक्ती आय बढेर १ हजार ७१ डलर पुगेको  छ।   सरकारले राम्रा काम गर्दागर्दै पनि सत्तारुढ दलभित्रैबाट सरकार ढालेर, प्रधानमन्त्री, राष्ट्रपति, क्रमशः प्रदेशका मुख्यमन्त्री र  प्रदेश प्रमुखहरुलाई अपदस्त गरी अस्थिरता निम्त्याउने  खेल सुरु भएपछि ताजा जनादेशमा जानका लागि प्रधानमन्त्रीले संसद भङ्ग गरेको मुख्यमन्त्री राईले बताए।  

आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावलाई जनताको विश्वासमा तातो पानी खन्याउने काम भएको मुख्यमन्त्रीको टिप्पणी छ।  अविश्वासको प्रस्तावलाई मुख्यमन्त्री राईले जनविरोधी हर्कतको संज्ञा दिँदै यसविरुद्ध एकजुट हुन सबैलाई आग्रह गरे।  प्रदेशसभामा मुख्यमन्त्रीको विरुद्व आएको अविश्वासको प्रस्तावलाई  सामना गर्ने राईले स्पष्ट पारे।  संसदीय व्यवस्थाको प्रचलित नियम विपरीत अविश्वासको प्रस्ताव आएपनि  प्रस्तावको सामना गर्ने मुख्यमन्त्री राईको भनाई छ।  प्रदेश सभाले राजधानीको टुङ्गो लगाएको र नामको पनि चाडै टुङ्गो लगाउने उनले बताए।  वार्षिकोत्सव कार्यक्रममा  प्रदेश १ मा यातायात कार्यालयहरूले उपलब्ध गराउने सेवाहरू डिजिटल प्रविधिबाट उपलब्ध गराउने कामको थालनी पनि भएको छ।  कार्यक्रममा डिजिटल प्रविधिको सेवा ल्यापटपको किबोर्ड थिचेर मुख्यमन्त्री राईले उद्घाटन गरेका थिए।  अबको तीन महिना भित्र प्रदेश १ मा  यातायातका साधनको दर्ता, नविकरण, नमसारीलगायतका सबै काम अनलाइनबाटै हुने राईले बताए।  मुख्यमन्त्री राईले यातायातको मात्रै नभई मालपोत, नापीलगायतका कार्यालले प्रवाह गर्ने सेवा पनि छिट्टै अनलाईन माध्ययमबाटै प्रबाह गरिने स्पष्ट पारे।  समारोहको उद्घाटन प्रदेश प्रमुख सोमनाथ प्यासीले गरेका थिए।  

 

प्रकाशित: ३ फाल्गुन २०७७ १३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App