राजनीति

शेखर कोइरालाको प्रश्न : कालीबहादुर खामलाई प्रहरीले खोज्ने, प्रधानमन्त्रीले बालुवाटारमै भेट्ने ?

नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले नेकपाको ओली समूह अपराधीहरुको भर्ती केन्द्र भएको आरोप लगाएका छन्।  

धरानमा आज सोमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता कोइरालाले पुष ५ गतेदेखि अहिलेसम्म ८, १० जना अपराधीहरुलाई ओली समूहमा भर्ती गरिसकेको पनि दाबी गरे।  ‘उहाँ त यति कमजोर भइसक्नु भएछ कि नेकपा ओली समूह अपराधीहरुलाई भर्ती गर्ने पार्टीकोरुपमा विकसित गरिसक्नु भयो।  पुष ५ गतेदेखि अहिलेसम्म ८, १० जना अपराधिहरुलाई ओली समूहमा भर्ती गरिसक्नु भएको छ,’नेता कोइरालाले भने,‘कालिबाहादुर खामको नाम त सुन्नुभएकै होला, कालीबहादुर खामलाई रामहरि श्रेष्ठ हत्या प्रकरणमा जन्मकैद भनेको छ।  पुलिसले खोज्दैछ, तर खामलाई खोज्न जानुभयो भने बालुवाटार जाँदा भेट्न सक्नुहन्छ।’

नेता कोइरालाले संविधानको कुनै पनि धारा टेकेर सर्वोच्च अदालतका न्यायाधीशहरुलाई निर्णय गर्दा संसद पुर्नस्थापनाबाहेक विकल्प नभएको पनि बताए।  सर्वोच्च अदालतलाई आग्रह वा प्रधानमन्त्री ओलीले जस्तरी धम्की दिन पनि नचाहने भन्दै नेता कोइरालाले सर्वोच्चको निर्णय चित्त बुझे पनि वा नबुझे पनि स्वीकार गरेर जानुपर्ने धारणा राखे।  ‘सर्वोच्च अदालत हाम्रो सम्मानित अदालत हो, त्यसलाई हामीले आग्रह गर्ने पनि होइन, ओली जीले दिए जस्तो धम्की दिन चाहदैनौं, दिन पनि हुदैँन,’उनले भने,‘तर म विश्वस्त के छु भने सर्वोच्च अदालतले पुर्नस्थापना नै गर्छ।  किनभने प्रधानमन्त्री जी ले जे कुरा बोलिरहनु भएको छ, जुन कुरा लिखित दिनुभएको छ, त्यसमा संविधानको कुनै पनि धारा टेकेर बोल्नुभएको छैन।’

प्रधानमन्त्रीले बुटवलले सभामा धारा ७६ (१) को कुरा गरेको उल्लेख गर्दै नेता कोइरालाले ‘६७ प्रतिशत सांसदहरु मसँग सांसदहरु छन्’ भनिरहँदा यो संविधानले ६७ प्रतिशत संसद भएको पार्टीले संसद विघटन गर्न पाउँदै पाउँदैन भनेर संविधानमै लेखिएको पनि बताए।  

राष्ट्रपतिको भूमिका अत्यन्तै सम्मानित र संविधानको संरक्षककोरुपमा भए पनि राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका अमर्यादित र नेकपाको पनि गुटको जस्तो भएको आरोप लगाए। देशको प्रधानमन्त्री आफै विरोधसभा जस्तो गरेर हिडिरहेको भन्दै कोइरालाले नारायणहिटी दरबारअघि राजा महेन्द्रको सालिकतिर फर्किएर मैले जे बेले त्यही कनुन हो भनेर देखाउन खोजेको पनि नेता कोइरालाको भनाई थियो।  

 

प्रकाशित: ३ फाल्गुन २०७७ १३:०७ सोमबार

नेपाली कांग्रेस विरोध सभा