राजनीति

दुई तिहाई सांसदको नेतृत्व गरेको प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँछ : ओली

फाइल तस्वीर।

प्रधानमन्त्री केपी शर्मा ओलीले करिब दुई तिहाई सासंदको प्रतिनिधित्व गरेको प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न पाउने जिकिर गरेका छन्। शनिबार बुटवलमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन विलकुल संविधान सम्मत रहेको दोहोर्‍याए।

‘संविधान विपरीत प्रतिनिधि सभा विघटन गर्‍यो भन्ने कुरा भएका छन्। संविधान विपरीत होइन विलकुल संविधान सम्मत विघटन गरिएको हो,’ उनले भने,‘लगभग दुई तिहाई अर्थात ६४ प्रतिशतको प्रतिनिधित्व गरिरहेको प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँछ। अर्को कुनै विकल्प छैन।’

आफूलाई काम गर्न नदिएपछि र देशलाई अस्थिरतातर्फ धकल्ने प्रयास भएपछि संसद् विघटन गर्नुपरेको उनको भनाई छ। ‘काम गर्न नदिने, अस्थिरतातर्फ लाने लोकतान्त्रिक प्रणाली र प्रक्रिया चल्न नदिने अलोकतान्त्रिक अस्वस्थ प्रक्रियातर्फ देशलाई धकेल्न प्रयासहरु जब आफ्नै भित्रबाट हुन थाले मैले एउटै पार्टीको बहुमत भएको प्रधानमन्त्रीको हिसाबले मैले संसद विघटन गर्नुपर्‍याे,’ ओलीले भने।

भाषणको अधिकांश समय ओलीले आफू नेतृत्वको सरकारले भौतिक पूर्वाधार विकास र अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाएकोमा विताएका थिए। आफू नेतृत्वको सरकारले देशमा धेरै विकास निर्माणमा गरेको उनको दाबी छ। उनले सामाजिक सुरक्षामा समेत सरकारले महत्वपूर्ण उपलब्धी गरेको जिकिर गरे।  

समृद्ध नेपाल र सुखी नेपालको परिकल्पना साकार पार्ने उनको भनाई छ।  

प्रकाशित: १ फाल्गुन २०७७ ११:३९ शनिबार

संसद् विघटन केपी ओली