राजनीति

माधव नेपालको ढाडमा टेकेर ओलीको टाउकोमा हिर्काउने प्रचण्डको योजना असफल : शंकर पोखरेल

फाइल तस्वीर।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपाका वरिष्ठ नेता ‘माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हिर्काउने प्रचण्डको योजना’ असफल भएको बताएका छन्। शनिबार बुटवलमा आयोजित जनसभालाई सम्बोधन गर्दै नेता पोखरेलले एमालेको विभाजनबाट लाभ लिन खोज्ने प्रचण्ड अब जनताको जनमतको भिख माग्नुपर्ने अवस्थामा पुगेको टिप्पणी गरे।

‘पार्टी एकतापछि प्रचण्डले माधव नेपालको ढाडमा टेकेर कमरेड केपी ओलीको टाउकोमा हिर्काउन खोज्नुभएको थियो। आज सडकमा पछारिनुभएको छ,’ उनले भने,‘एमाले भित्रको विभाजनबाट लाभ लिन खोज्ने प्रचण्ड अब जनताको जनमतको भिख माग्नुपर्ने अवस्थामा पुग्नुभएको छ।’

उनले तत्कालीन जनयुद्धका कमाण्डरहरु प्रचण्डलाई छोडेर आफूहरुतिर आइरहेको समेत बताए। ‘कमरेड प्रचण्डको साथ हिजोको जनयुद्धका कमाण्डहरुले साथ छोड्दै हुनुहुन्छ।’

ओलीको नेतृत्वको सरकार समृद्ध नेपाल सुखी नेपालको अभियानमा जुटेको नेता पोखरेलको भनाई छ।  

प्रकाशित: १ फाल्गुन २०७७ १०:२७ शनिबार

शंकर पोखरेल ओली-प्रचण्ड नेकपा विभाजन प्रतिनिधि सभा विघटन