राजनीति

कांग्रेसको केन्द्रीय सभापतिमा गुरुङको उम्मेद्वारी घोषणा

प्रेस यूनियन खोटाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस केन्द्रीय सदस्य कल्याणकुमार गुरुङ । तस्बिरः दमन राई/नागरिक

नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले कांग्रेसको आसन्न महाधिबेशनमा सभापतिमा उठ्ने घोषणा गरेका छन् । नेपाल प्रेस यूनियन खोटाङले मंगलबार बिहान दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य गुरुङले आगामी १४ औं महाधिबेसनका लागि सभापतिको उम्मेदवारी घोषणा गरेका हुन् ।

केही समय अघिदेखि प्रदेश नम्बर १ का विभिन्न जिल्लाको दौडाहामा रहेका गुरुङले खोटाङ पुगेर केन्द्रीय सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले कांग्रेस खोटाङका पूर्वसभापति एबं महासमिति सदस्य बिष्णुकुमार राई, प्रतिनिधिसभा सदस्य हिरा गुरुङ, संविधानसभा सदस्य सरस्वती बजिमय, महासमिति सदस्य रविप्रकाश राई, जिल्ला सचिव ज्ञानेन्द्र जोशीलाई साक्षी राख्दै सभापतिको उम्मेद्वार दिने घोषणा गरेका छन् । कांग्रेस नेता गुरुङले कांग्रेस सभापतिमा उम्मेद्वारी दिएको शव्द पटक–पटक दोहोर्‍याएका थिए ।  

पार्टीभित्र एक जनाले मात्र अवशर लिइरहेको अवस्थामा सवैलाई न्यायोचित अवसर सुनिश्चितता एवं निर्णायक तहमा पृथक–पृथक व्यक्तीको उपस्थितिका लागि सभापतिमा उम्मेद्वारी घोषणा गरेको बताए । ‘फेरि पनि भन्छु महाधिबेशनमा म कल्याणकुमार गुरुङ पार्टीको सभापति पदमा उम्मेद्वारी दिन्छु । म केन्द्रीय सभापति पदको उम्मेद्वार हुँ,’ गुरुङले भने, ‘पार्टीभित्र सवैको न्योचित अवसर र पृथक–पृथक व्यक्तीबिचको प्रतिनिधित्वका लागि पार्टीको केन्द्रीय सभापतिमा मैले उम्मेदवारी दिएको हुँ ।’  

हुँदै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरियो  

कांग्रेसका केन्द्रीय सदस्य गुरुङले वर्तमान प्रधानमन्त्रीलाई संविधानसभा विघटनको अधिकार नभएको बताएका छन् । संविधानको धारा ७६ को उपधारा १ अन्तरगत नियुक्त प्रधानमन्त्रीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको गुरुङको भनाई थियो । ‘संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नियुक्त प्रधानमन्त्रीले संसदमा बिश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री रहिरहन नसकेमा संसद विघटनको सिफारिस गर्ने छ र ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्नेगरी मिति तोक्ने छ भनिएको छ,’ गुरुङले भने, ‘अहिलेको प्रधानमन्त्री संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नियुक्त होईन । धारा ७६ को उपधारा १ अन्तरगत नियुक्त अहिलेको प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार छैन । संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गर्नुभयो, त्यो असंवैधानिक भयो ।’  

जवसम्म नेकपाले दुईटा चुनाव चिन्ह प्राप्त गर्दैन ...  

केन्द्रीय सदस्य गुरुङले नेकपा औपचारिकरुपमा बिभाजित नभएसम्म र दुई वटा चुनाव चिन्ह प्राप्त नगरेसम्म संसद विघटन विरुद्धको आन्दोलनमा कांग्रेस एक्लै जाने स्पष्ट पारेका छन् । नेकपाले वैधानिकरुपमा दुई वटा निर्वाचन चिन्ह पाएपछि मात्र असंवैधानिक कदम विरुद्धको आन्दोलनको स्वरुपका विषयमा छलफल हुने उनले बताए । ‘दुईटा नेकपाले जवसम्म दुईटा चुनाव चिन्ह प्राप्त गर्दैन तवसम्म सत्तामा बस्ने र सडकमा बस्ने नेकपालाई हेर्ने हाम्रो दृष्टिकोण एउटै हुन्छ । त्यो अवस्थासम्म हामी जुनसुकै नेकपासँग पनि मिलेर संयुक्त आन्दोलनमा जाँदैनौं,’ केन्द्रीय सदस्य गुरुङले भने, ‘जव नेकपा विभाजित हुन्छ । वैधानिकरुपले दुईटा निर्वाचन चिन्ह प्राप्त गर्नुहुन्छ । अनि मात्र आन्दोलनको स्वरुपका बारेमा छलफल हुन्छ र सहकार्य गर्ने पार्टीको टुंगो लाग्छ ।’

प्रकाशित: २७ माघ २०७७ ०८:०७ मंगलबार

केन्द्रीय सभापति नेपाली काँग्रेस