राजनीति

‘सर्वोच्चको फैसला आउन दिनुस्’

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिानाले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवादका कारण प्रतिनिधिसभा विघटन भएको टिप्पणी गरेका छन्। पार्टीमा गुटबन्दीका कारण वर्तमान सरकारलाई आवश्यक सहयोग नभएको अवस्थामा राजनीतिक संकट देखिएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको पक्ष र विपक्षमा तर्क राख्ने भन्दा पनि सर्वोच्चले त्यसमा कस्तो फैसला गर्छ त्यसलाई मानेर जानुपर्ने बताए।  

शनिबार म्याग्दी उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनको उद्घाटन गदैं अध्यक्ष तिमिल्सनाले सर्वोच्च अदालतको फैसला नै सबै राजनीतिक दलले स्वीकार गरेर जानुपर्ने बताए। ‘सरकारलाई आफ्नै पार्टीबाट असहयोग भयो, ‘अहिलको संकटको अवस्था सत्तापक्षकै कारण हो,’ अध्यक्ष तिमिल्सिनाले भने। उनले विश्वकै उत्कृष्टमा मानिने नेपालको संविधानलाई जोगाउनुपर्ने अवस्थामा पार्टीभित्रकै विवादले पक्ष र बिपक्षमा लागेर खुइल्याउने काम भइरहेको बताए।  

‘संविधानको अन्तिम व्याख्या सर्वोच्च अदालतले गर्छ, पुनःस्थापना भए संसद्मा जानुहोस्, ताजा जनादेशको फैसला भए निर्वाचनमा,’ अध्यक्ष तिमिल्सिनाले भने। पार्टीभित्रबाटै प्रतिपक्षको भूमिका खेलेर राजनीतिक संस्कार गुमाएको समेत बताए। कुनै राजनीतिक दलको आन्तरिक खिचातानी वा शक्ति संघर्षले गणतन्त्र, संघियता, धर्म निरपेक्षता, समावेशिता जस्ता राजनीतिक उपलब्धीहरू नगुम्ने अध्यक्ष तिमिल्सिनाको भनाइ छ। अध्यक्ष तिमिल्सिनाले दलीय विवादले जनतालाई सास्ती दिन नहुने बताए। 

‘आफ्नो विवादमा जनतालाई सास्ती दिने काम बन्द गर्नुहोस्, राजनीतिक मुद्दामा अब धेरै अल्झिनु हुँदैन,’ अध्यक्ष तिमिल्सिनाले भने। उनले देशमा पछिल्लो तीन वर्षयता विकास निर्माणका योजनाले फड्को मारेको बताउँदै जनतामा जाने लोकतान्त्रिक अधिकारलाई सहयोग गर्न समेत सबै राजनीतिक दललाई अनुरोध गरे।

प्रकाशित: २५ माघ २०७७ ०१:३९ आइतबार

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिाना राजनीतिक संकट