राजनीति

दाहालविरुद्ध अवहेलना मुद्दा

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध अदालतको अवहेलनामा सर्वोच्च अदालतमा सोमबार रिट दर्ता भएको छ। रिटमाथि मंगलबार सुनुवाइ हुँदैछ।  

अधिवक्ता समीर बलामीले दाहालले विराटनगरको आमसभामा अदालतलाई लक्षित गरी बोलेको विषयलाई लिएर निवेदन दिएका हुन्। दाहालले न्यायाधीशहरूले जनभावनाअनुसार फैसला नगरे जनताको अदालतबाट फैसला गर्ने भन्दै अदालत र न्यायाधीशलाई लक्षित गरी धम्कीसहितको अभिव्यक्ति दिएको रिट निवेदकले दाबी गरेका छन्।  

‘सारा देशले सुने हुन्छ, सर्वोच्च अदालतले अन्यथा फैसला गरेमा हामी सभामुखमार्फत प्रतिनिधिसभा बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्नेछौं। हामीलाई अदालतप्रति विश्वास छ तर पनि जनताको अदालत ठूलो हो’, शुक्रबार विराटनगरमा आयोजित आमसभामा दाहालले भनेका थिए।  

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ, सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध पनि अदालतको अवहेलनामा छुट्टाछुट्टै निवेदन दर्ता भएको थियो। सर्वोच्चले सबै मुद्दामा लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश दिइसकेको छ।

प्रकाशित: २० माघ २०७७ ००:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App