राजनीति

संसद बैठक राखेर ओलीलाई कारबाही गर्ने चेतावनी

विरोध सभालाई सम्बोधन गर्दै नेताहरू। तस्बिरः चुमन बस्नेत

नेकपा दाहाल नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आवश्यक परे संसद बैठक राखेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्ने चेतावनी दिएका छन्। शुक्रबार विराटनगरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै  दाहालले आवश्यक परे संसदको बैठक राखेर ओलीलाई कारबाही गर्ने चेतावनी दिएका हुन्।  

संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिएकाले संविधान अनुसार संसदको बैठक राखेर ओलीलाई कारबाही गर्ने उनले बताए। ‘आवश्यक परे संविधानको अधिकार प्रयोग गरेर असंवैधानिक कदम सच्याउन  सभामुखले संसदको बैठक बोलाउने र सोहि बैठकबाट प्रधानमन्त्री ओलीलाई कारबाही गर्छौं ’दाहालले भने‘तर, सर्बोच्चमा प्रतिनिधिसभा विघटनको मुद्धा विचारधिन रहेकाले अदालतले सहि फैसला गर्छ भन्नेमा हामी विश्वस्त छौं ’ दाहालले भने। ओली भष्मासुर प्रतिक्रन्तिको एजेन्ट बनेर निश्किएको भन्दै दाहालले केहि महिना भित्रै निरंकुश तत्वलाई जनताको आन्दोलनले पराजित गर्ने दाबी गरे।  दाहालले नेकपा आफुहरूको पार्टी भएको बताए। ‘नेकपा हामी नै हौं ’ उनले भने‘ अरु दुविधा छैन।’ ओलीका मान्छेहरूले निर्वाचन आयोगसँग पनि सेटिङ गरिसकेको बताउने गरे पनि जनताका अगाडि  फटाहा र गुण्डाहरूको सेटिङ काम नलाग्ने उनको भनाई छ। आफूहरूको भरोसा जनतामा भएकाले प्रतिगमनलाई घुंडा टेकाउन जनतामाझ सडकमा आएको उनले बताए। समाजबादको आधार सृजना गर्ने अभियानमा प्रतिक्रान्तिको एजेन्ट बनेर ओलीले झेली गरे। ओली वैमान, धुर्त, ठग, खुरापाती रहेछन्। उनको पक्षमा राजा महाराजाका धुपौरेहरू छन्। दलाल पूँजीवादीहरूको हितमा काम गर्ने ओलीले आफूलाई परिवारवादमा चलेको बताउने गरेको प्रचण्डको गुनासो छ। उनले जनतासँग न्यायको याचनासमेत गरेका छन्। ‘म निःसन्तान नहुनु मेरो दोष हो ?’ प्रचण्डले भने‘म जनताबाट न्याय चाहन्छु।’ जसले त्याग गर्यो त्यसलाई अपमान गर्ने ओलीले  राजा महाराजालाई आदर गर्नेगरेको भन्दै  प्रचण्डले आक्रोश व्यक्त गरे। उनले देशलाई राजनीतिक संकटबाट मुक्त गर्न आन्दोलनमा उत्रेको दाबी गरे।  

अर्का अध्यक्ष  माधवकुमार नेपालले निर्वाचन आयोगले प्रधानमन्त्री केपी ओलीको सिङ जुरो उखेलीसकेको भए पनि ओली अझै खुट्टा उचालीरहेको बताएका छन्। नेपालले भने ‘निर्वाचन आयोगले सिङ जुरो उखेलेर भुईमा ओली लडीसकेका भए पनि अझै उनि जितेझै गरी खुट्टा उचालीरहेका छन्।’ निर्वाचन आयोगको निर्णयले ओलीले पार्टीको नाम, झण्डा, चुनावचिन्ह केहि पनि नपाउने निश्चित भइसकेको नेपालले बताए।  अपमानको अर्को नाम ओली भएको बताउँदै नेपालले ओलीले आफूहरूलाई मात्रै नभई वकिल, पत्रकार, अदालत सबैलाई अपमान गरिहेको आरोप लगाए। प्रधानमन्त्री  ओलीलाई कम्युनिष्ट आन्दोलन, गणतन्त्र, लोकतन्त्र, संघियता, समावेशितासँग एलर्जी भएकाले लामो आन्दोलन पछि प्राप्त सबै उपलब्धी सिध्याउन लागिपरेको  नेपालले बताए। कानुन अनुसार आफूहरूको पक्षमा बहुमत केन्द्रिय सदस्यहरू भएकाले आफूहरूले नै पार्टी झण्डा र सूर्य चिन्ह पाउने नेपालको दाबी छ।  

नेकपाका नेता झलनाथ खनालले ओली एक नम्बर ठग भएको बताए। उनले केपीले १४ वर्ष जेलमा बसेर महाभारत पढेर सकुनिको ज्ञान सिकेकाले सकुनिको बुद्धि लिएर जालझेल गरिरहेको खनालको भनाई छ। उनले भने‘सकुनिले सारालाई सिध्यायजस्तै ओली पनि उनकै बुद्धि लिएर नेकपा नास्न लागिपरेका छन्।’ उनले पैसा र पदका लोभ देखाएका आफ्नो पार्टीमा नेता कार्यकर्ता तानिरहेको भन्दै पद र पैसाको लोभिहरू मात्रै  ओलीको पार्टीमा लाग्ने बताए। खनालले नेकपा पार्टी, झण्डा र चुनाव चिन्ह आफुहरूले नै पाउने दाबी गरे। विरोधसभालाई नेकपाका नेता योगेश भट्टराई, प्रदेश १ इन्चार्ज भीम आचार्यलगायतले सम्बोधन गरेका थिए।  

 

प्रकाशित: १६ माघ २०७७ १३:३० शुक्रबार

नेकपा संसद विघटन