राजनीति

नेकपामा वामदेवले सुरु गरे पार्टी एकता अभियान

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम संसद् विघटन भएपछि राजनीतिक रूपमा विभाजन भएको नेकपालाई पुनः एकता गराउने अभियानमा लागेका छन्। पार्टी एकता राष्ट्रिय अभियानको अवधारणापत्र प्रस्तुत गर्दे बुधबारबाट औपचारिक रूपमा एकता अभियान सुरु गरेका हुन्। बुधबार पत्रकार सम्मेलन गरेर गौतमले पार्टी पुनः एकीकरणको योजना पेस गर्दै केन्द्रदेखि गाउँतहसम्म पार्टी एकीकरण अभियान सुरु गर्ने बताएका हुन्। 

पार्टी एकता राष्ट्रिय अभियान सञ्चालनका लागि केन्द्रमा एक अधिकार सम्पन्न केन्द्रीय समन्वय समिति रहने र यो अधिकतम ६ सय ५१ सदस्यीय हुनेछ। केन्द्रीय समन्वय समितिमा अधिकतम १ सय ७५ जनाको कार्य सम्पादन समिति हुनेछ। दैनिक कामका लागि आवश्यक सचिवालय निर्माण गरिने प्रत्येक प्रदेशमा प्रदेश समन्वय समिति हुनेछ। त्यसमा प्रदेशअन्तर्गत रहेका केन्द्रीय सदस्यहरू र जिल्ला समितिका संयोजकहरू पदेन सदस्यका रूपमा रहने छन्। प्रदेश समन्वय समितिमा आवश्यक संख्याको एक सचिवालय रहनेगरी अभियान सुरु गरिने उपाध्यक्ष गौतमले बताए। उनले यो एकता दुई चरणमा हुनेसमेत बताएका छन्।  

पहिलो चरण सर्वोच्च अदालतको निर्णय नआउँदासम्मको र दोस्रो चरण, सर्वोच्च अदालतको निर्णय आएपछि एकतालाई पूर्णता दिन लाग्नेसमेत उनले बताए। यी चरणमा एकीकरणका विभिन्न विकल्पमा छलफल गरिनेर यसबीचमा सरकार सञ्चालन गर्ने अवसर प्राप्त भएमा संयुक्त सरकार सञ्चालन गर्ने प्रक्रिया अवलम्बन गरिनेसमेत उनले बताए। प्रतिनिधिसभा पुनःस्थापना वा निर्वाचन दुवै अवस्थामा भिन्नभिन्न केन्द्रअन्तर्गत पार्टी सञ्चालन र कार्यगत एकताको आधारमा निर्वाचनमा सामेल हुने, सरकार सञ्चालन गर्ने अवसर प्राप्त भएमा संयुक्त सरकार सञ्चालन गर्ने प्रक्रिया अवलम्बन गरिने गौतमको योजना रहेको छ।  

यसलाई व्यवस्थित गर्न बराबर संख्याका समन्वय समितिहरू विभिन्न तहमा निर्माण गरिने, प्रतिनिधिसभा पुनःस्थापनापछि पनि पार्टी एकीकरण हुन नसकेमा पार्टी एकता अभियान निर्वाचन काल र त्यसपछि पनि निरन्तर जारी रहने उनले बताए। फरक–फरक नाममा विधिवत् आ–आफ्ना पार्टी सञ्चालन गरिएको अवस्थामा पनि मित्रतापूर्ण सम्बन्ध कायम राख्दै पार्टी एकीकरणका निम्ति अथक प्रयत्न गरिने गौतमको भनाइ छ। उनले बुधबार एकताको आधारपत्र प्रस्तुत गर्दै सबैलाई एकता अभियानमा सामेल हुन आग्रह गरेका छन्। ‘जनताको यो अपार समर्थनमा धेरैधेरै आशा र विश्वासका किरण रहेका छन्। तर पार्टी विभाजनको क्रियाकलापले उनीहरूको आशा र विश्वासमा ठूलो धक्का पुगेको छ। 

विभाजनका कारण नेपालको संविधानबमोजिम लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समृद्ध समाजवाद निर्माण गर्ने ऐतिहासिक कार्यभारबाट नेपाली जनता बञ्चित हुने अवस्थासमेत सिर्जना भएको छ,’ उनले भनेका छन्, ‘त्यसोभएर पार्टीलाई पुनः एकीकरण गर्न नेकपा एकता राष्ट्रिय अभियानमा संगठीत रूपमा जुट्नुहोस् ! तपाईहरू जुन ठाउँमा हुनुहुन्छ, त्यहीँ नेकपा एकता अभियानको नाममा संगठन खडा गर्नुहोस्,’ उपाध्यक्ष गौतमले भने। उनले कोही कसैलाई पनि गालीगलौज नगर्नसमेत आग्रह गरेका छन्। ‘विभाजनमा लागेका कमरेडहरूलाई पुनः एकीकृत हुन अनुरोध गर्नुहोस्। तर, कुनै पनि समूहमा रहेका नेता तथा कमरेडहरूलाई गालीगलौजको शैलीमा विरोध नगर्नुहोस्। सबैलाई सम्मान गर्ने, कसैलाई पनि अपमान नगर्ने समाजवादी शैली अपनाउनुहोस्,’ उनले भने। उनले सामाजिक दुरी कायम गर्दै कोरोना महामारीबाट बच्न प्रत्येकले मास्क लगाएर एकता र्‍यालीमा सहभागी हुन आग्रह गरेका छन्।

उनले एकताको सन्देश दिने पर्चा पोष्टर छापेर बाँड्नसमेत आग्रह गरेका छ्न। उनले जनताको बहुदलीय जनवाद तुलनात्मक अध्ययन, एक्काइसौं शताब्दीको कम्युनिस्ट पार्टी, नेपाली जनताको समृद्धिको कार्यक्रम बहुदलीय समाजवाद, पार्टीको विधान, राजनीतिक ज्ञान र शिक्षाका आधार, आवश्यक माक्र्सवादी साहित्यलाई उपाध्यक्ष गौतमले पार्टी एकताका लागि आवश्यक सन्दर्भ सामग्रीका रूपमा प्रस्तुत गरेका छन्।

प्रकाशित: १५ माघ २०७७ ०२:०१ बिहीबार

नेपाल कम्युनिस्ट पार्टी वामदेव गौतम संसद् विघटन पार्टी एकता राष्ट्रिय अभियान