राजनीति

केपी ओलीको असंवैधानिक कदमविरुद्ध एक हुन आग्रह

तस्बिरः विनोद सुवेदी/नागरिक

प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्ध एकजुट हुन नागरिक समाज विराटनगरले आग्रह गरेको छ । बुधबार विराटनगर स्थित जनआन्दोलन चोकमा सडकमै पत्रकार सम्मेलन तथा अन्तक्र्रिया कार्यक्रम आयोजना गरी प्रबुद्ध नागरिक समाजले प्रतिनिधिसभा विघटनको असंबैधानिक कदम विरुद्ध एकजुट हुन आग्रह गरेको हो ।  

कार्यक्रममा समाजका संयोजक  राजनीतिक विश्लेषक तथा प्राध्यापक कृष्ण पोखरेलले संविधानले बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिएको दाबी गरे  । उनले बहुमत प्राप्त  प्रधानमन्त्रीले  संसद विघटन गर्ने व्यवस्था संविधानमा कतै पनि नभएको स्पष्ट पारे । उनले प्रधानमन्त्रीले पहिलो स्टेपबाट सिधै सातौं स्टेपमा चढ्ने कोशिस गरेको बताए । उनले भने‘पहिलो स्टेपबाट एकैपटक सातौं स्टेपमा टेक्ने प्रधानमन्त्रीको प्रयास विधि संगत छैन ।’  हरेक विषयमा प्रधानमन्त्रीले आफु मात्रै जान्ने ठान्ने गरेको पोखरेलले बताए । शासकको अरुलाई नसुन्ने जहाँ पनि आफैं हावी हुने र विरोधिलाई पाखा लगाउने प्रबृत्ती  नै निरंकुश  शासन व्यवस्था रहेको पोखरेलले बताए । उनले निरंकुश शासकका विरुद्ध एक जुट हुने वेला आएको धारणा राखे ।  

कार्यक्रमलाई सम्बोधन गर्दै प्राध्यापक पिके झाले गलत कदमलाई गलत भन्न आग्रह गरे । झाले आबश्यक परेको खण्डमा प्रबुद्ध नागरिक समाज शसक्त आन्दोलन गर्न पनि तयार रहेको बताए । अधिबक्ता मेदनी सेडाईले प्रधानमन्त्रीको कदम विधि र पद्धति अनुसार नभएको स्पष्ट पारे । यसैवीच प्रधानमन्त्रीले चालेको असंबैधानिक कदम विरुद्ध प्रबुद्ध नगारिक समाजले १ सय १० सदस्यीय संघर्ष समिति पनि गठन गरेको छ । समितिमा प्राध्यापक, वकिल, मानवअधिकारकर्मी तथा पत्रकारहरूको सहभागिता छ । 

प्रकाशित: १४ माघ २०७७ १३:२७ बुधबार