राजनीति

'स्वार्थकाे लागि जे पनि गर्ने कुलंगार, भस्मासुरहरुले छोड्दैमा आन्दोलन कमजोर हुनेवाला छैन'

फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पार्टीबाट निकाल्यौं भन्नु हास्यास्पद भएको बताएका छन्। सोमबार दाङको देउखुरीमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आइतबार प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउने निर्णयलाई ‘काउन्टर’ दिएका हुन्।  

‘तपाईंहरु अचम्म पर्नुहुन्छ होला, दुई चार जना मान्छेहरुले पार्टीको बैठक छोडेर बाहिर गएर विभिन्न बेङ्क्वेटहरुमा गएर, विभिन्न रेस्टुरामा गएर केपी ओलीलाई पार्टीको साधारण सदस्यबाट निकाले अरे, हाँस्न मन लागेन तपाईंहरुलाई। केपी ओलीलाई पार्टीबाट पनि निकाले साधारण सदस्यबाट पनि निकाले रे। केपी ओली विमारी पर्‍यो भनेको सुनेपछि गदगद हुन्छन्, निको भएर फर्कियो भन्ने सुनेपछि थच्याक्क हुन्छन्। उनीहरु भरसक केपी ओली यो पृथ्वी मै नरहे हुन्थ्यो भन्छन्। तर, उनीहरुले भनेर हुनेवाला त होइन,’ ओलीले भने।

पटक–पटक ‘पिलो निचोरिदैमा शरीरको वजन नघट्ने’ बताउँदै आएका ओलीले दाङमा पनि उक्त वाक्यांश उच्चारण गरे। ‘पिलो निचोरिदैमा वजन घटेको हुँदैन। दुई–चार जना देशलाई माया नगर्ने, जनाको भविष्यलाई माया नगर्ने, जनताको भलो नचाहने आत्मकेन्द्रित आफ्नो स्वार्थका लागि जे गर्न पनि तयार हुने कुलंगार, भस्मासुरहरुले पार्टी छोड्यो भन्दैमा यो आन्दोलन कमजोर हुनेवाला छैन,’ ओलीले भने।

अर्को प्रसंगमा आफूले वकिलको अपमान नगरेको जिकिर गरे। ‘मैले ९४ वर्षको बुढो मान्छेलाई किन दुःख दिनुभएको भनेको हुँ,’ ओलीले भने, ‘यति भनेपछि अदालतको मानहानी पर्‍यो भने।’

आफ्नो भाषणको अधिकांश समय उनले आफू नेतृत्वको सरकारले देशमा विकास गरेको भन्नेमा खर्चिएका थिए।

लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा निर्माण भएको पुलको उद्घाटनका लागि प्रधानमन्त्री ओली सोमबार नेपाली सेनाको हेलिकप्टरबाट दाङ पुगेका हुन्।  

प्रकाशित: १२ माघ २०७७ १०:५९ सोमबार

केपी शर्मा ओली संसद विघटन