राजनीति

आयोगले हाम्रो पार्टी नै आधिकारिक भनेर फैसला गर्नेमा कुनै द्विविधा छैन : नारायणकाजी श्रेष्ठ

फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगबाट आफूहरुको पार्टीलाई आधिकारिकता मिल्ने दाबी गरेका छन्। संसद् विघटन विरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गर्न सोमबार पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता श्रेष्ठले आफूहरुको पार्टीले आधिकारिता पाउनेमा कुनै शंका नरहेको जिकिर गरे।

तर, निर्वाचन आयोगले आइतबार दुवै समूहबाट पेश भएका विवरणलाई अस्वीकार गर्दै नेकपा विभाजनलाई औपचारिकता दिन नसकिने बताइसकेको छ। प्रचण्ड–नेपाल समूहले भने विधि, विधानअनुसार आफूहरुले आधिकारिकता पाउने दाबी गरिरहेको छ।

प्रवक्ता श्रेष्ठले दलको ऐनले स्पष्सँग आफूहरुलाई आधिरकारिकता दिने जिकिर गरे। निर्वाचन आयोगले आफूहरुलाई आधिकारिक रुपमा जानकारी दिएपछि पार्टीले औपचारिक धारणा तय गर्ने उनको भनाई छ।  

‘हाम्रो पार्टी नै आधिकारिक पार्टी भएको कुरामा कुनै विवाद छैन। आयोगले पनि त्यो फैसला गर्नेछ भन्ने कुरामा कुनै दुविधा छैन। तर अनावश्यक ढिलो गर्ने र आशंका पैदा गर्ने काम कुनै कोणबाट नहोस्,’ प्रवक्त श्रेष्ठले भने, ‘निर्वाचन आयोगले हिजो गरिएको भनेको निर्णयको आधिकारिकताका बारेमा पत्रको प्रतीक्षा गरेका छौं। त्यसपछि मात्रै पार्टीले औपचारिक धारणा तय गर्नेछ।’

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि सत्तारुढ दल नेकपा अनौपचारिक रुपमा विभाजित भइसकेको छ। दुवै समूह (ओली र प्रचण्ड–नेपाल समूह) ले आफूहरुको पार्टी आधिकारिता भएको दाबी गरिरहेपनि निर्वाचन आयोगले भने कसैलाई आधिकारिता दिएको छैन।

तेस्रो चरणको आन्दोलन घोषणा

यसैबीच प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ। नारायणकाजी श्रेष्ठ नेतृत्वको संघर्ष समितिले सोमबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर यही माघ १३ गतेदेखि २८ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।  

जसअनुसार नेकपाले माघ १३ गते सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना, १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्ली दिने, २२ गते काठमाडौंमा युवा र्‍याली निकाल्ने, २६ गते देशव्यापी मसाल जुलुस र २८ गते काठमाडौंमा बृहत् विरोध प्रदर्शन गर्ने भएको छ। 

प्रकाशित: १२ माघ २०७७ ०७:१३ सोमबार

नारायणकाजी श्रेष्ठ नेकपा विभाजन संसद विघटन