राजनीति

प्रचण्ड–नेपाल समूहद्वारा तेस्रो चरणको आन्दोलन घोषणा

फाइल तस्वीर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ। नेता नारायणकाजी श्रेष्ठ नेतृत्वको संघर्ष समितिले सोमबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर यही माघ १३ गतेदेखि २८ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।  

जसअनुसार नेकपाले माघ १३ गते सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना, १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्ली दिने, २२ गते काठमाडौंमा युवा र्‍याली निकाल्ने, २६ गते देशव्यापी मसाल जुलुस र २८ गते काठमाडौंमा बृहत् विरोध प्रदर्शन गर्ने भएको छ।  

यसबीचमा प्रचण्ड–नेपाल समूहले विभिन्न तह र तप्कासँग अन्तरक्रिया कार्यक्रमहरु पनि जारी राख्ने जनाएको छ।

यसैगरी, तेस्रो चरणको आन्दोलन अन्तर्गत नेकपाले माघ १५ गते बुटवलमा, माघ १६ गते विराटनगरमा र माघ १७ गते धनगढीमा बृहत जनसभा गर्ने भएको छ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड–नेपाल समूह आन्दोलित बनेको छ। संसद् पुनःस्थापनाको माग गर्दै उसले देशव्यापी विरोधका कार्यक्रम गरिरहेको छ। प्रचण्ड–नेपाल समूहले गत शुक्रबार मात्र काठमाडौंमा जनप्रदर्शन गरेको थियो।  

प्रेस विज्ञप्तिः

प्रकाशित: १२ माघ २०७७ ०६:११ सोमबार

नेकपा विभाजन संसद विघटन प्रदर्शन