राजनीति

ओलीतर्फ संकेत गर्दै नेपालले भने – कम्युनिस्टको खोल ओढेका तानाशाहलाई पार्टीभित्र कुनै स्थान छैन

फाइल तस्वीर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यताबाट निस्कासन गर्ने तयारी भइरहेको बताएका छन्। सुर्खेतस्थित वीरेन्द्रनगरमा आयोजना गरिएको सोही समूहको भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिस्टको खोल ओढेका तानाशाहलाई पार्टीभित्र कुनै स्थान नभएको बताए।

कम्युनिस्टमा पार्टीभन्दा नेता ठूलो नहुने भन्दै उनले प्रधानमन्त्री ओली पार्टीभन्दा माथि हुन खोजेको बताए। कम्युनिस्टको नीति र विधि नमान्ने तानाशाहलाई पार्टीको साधारण सदस्यताबाट निस्कासन गर्न लागेको उनको भनाइ छ। केपी ओलीको कुरामा सहमति जनाउनलाई आफूहरु उनका दास र हनुमान नभएको भन्दै स्वाभिमानी भएको उनको भनाई छ।  

‘ओलीमा कम्युनिस्टसँग हुने गुन छैन,’ उनले भने, ‘त्यसैले पहिलादेखि अहिले पार्टी एकता गर्दासम्म पार्टीभित्र समस्यै समस्या भएका छन्।’ त्यही विचारले गर्दा असंवैधानिक ढंगले संविधानमाथि प्रधानमन्त्री ओलीले घात गरेको उनको भनाइ छ ।

सडक धुले पार्टी

नेपालले केपी शर्मा ओली समूहलाई सडकको धुले पार्टीको संज्ञा दिएका छन्। कम्युनिस्टको मूल घर छाडेर केपी ओलीले सडक धुले पार्टी बनाएको उनको भनाइ छ। ‘जानुस् धुलैधुलोले नुहाउनुस्,’ उनले भने, ‘त्यो कम्युनिस्ट होइन।’ उनले मूल घरबाट अलमलिएर सडक धुले पार्टीमा गएकाहरु फर्किनु पर्ने बताए। ‘अलमलिएर गएकालाई हराएको भन्न मिल्दैन,’ उनी भन्छन्, ‘त्यसैले कम्युनिस्टको मूल घरमा फर्किनुस्।’ केपी शर्मा ओलीको भविष्य नभएकाले उनको गुलियो बोलीमा कार्यकर्ता भुल्न नहुने उनले जनाए।

कुकुरको पुच्छर बांगै

उनले प्रधानमन्त्री ओलीको बानी व्यहोरालाई कुकुरको पुच्छरको संज्ञा दिएका छन्। जसका लागि अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले टिनका टिन तेल खर्च गरेको बताए । ‘प्रचण्डले कुकुरको पुच्छर सोझिन्छकी भनेर टिनका टिन तेल खर्च गर्नुभयो,’ उनी भन्छन्, ‘त्यति गरेर मालिस गर्दा पनि पुच्छर सोझिएन।’

प्रतिनिधिसभा पुनःस्थाति हुन्छ

संविधानले प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नदिएको भन्दै उनले पुनःस्थापित हुने उद्घोष गरे। प्रधानमन्त्री ओलीले संविधानमाथि कू गरेकाले यो गैरसंवैधानिक काम भएको उनको भनाइ छ। सर्वाेच्चले संविधानअनुसार व्याख्या गर्ने र जनताको विश्वासिलो जनप्रतिनिधिमूलक संस्था पुनःस्थापना हुनेमा आफू विश्वस्त रहेको बताए। ‘प्रतिनिधिसभा पुनःस्थापित हुन्छ,’ उनले भने, ‘गम्भीर अपराध गर्ने व्यक्तिलाई उचित दण्ड दिन्छ।’ पार्टीको निर्णय नमान्ने  र संविधानमाथि घात गर्ने व्यक्तिलाई दण्डसजाय दिनै पर्ने उनको भनाइ छ।

झुठको पुलिन्दा ओली

नेकपा अध्यक्ष नेपालले प्रधानमन्त्री ओली झुठको पुलिन्दा भएको आरोप लगाए। ओली इमान्दार नभइ झुठको पुल्दिाका भएको प्रमाण जनतासामु छर्लंग भएको उनले बताए। त्यसको साक्षी आफू भएको उनको भनाइ छ। ‘तुइँन विस्थापित गर्छु, पाइप लाइन, पानी जहाज ल्याउँछु भन्दै जनतामाझ झुठ बोले,’ उनले भने, ‘खोइ त ओलीले बोलेका एउटा पनि काम भएका।’ उनले नक्कली बोली बोलेर जनताको विश्वास गुमाएको बताए। यसरी जनतासँग झुठ बोल्दा जनताको मत नपाइने उनले जिकिर गर ।

घेराबन्दी गर्न खोजेको होइन

प्रधानमन्त्री ओलीले आफूलाई पार्टीभित्रकै नेताहरुले घेराबन्दी गरेर काम गर्न नदिएको आरोप लगाउँदै आएका छन्। यसमा पूर्वप्रधानमन्त्रीसमेत रहेको नेपालले आफूहरुले ओलीलाई घेराबन्दी गर्न नखोजेको बताए। आफूहरु समस्या नभइ समाधान भएको भन्दै उनले भने, ‘प्रधानमन्त्री ओलीले देश लुट्न र भ्रष्टाचारीलाई संरक्षण गर्न थाल्दा अवरोध गरेका हौं।’ देश लुट्न र भ्रष्टाचार गर्न नपाइने उनको भनाइ छ।

जनताको सरकारप्रति नकारात्मक धारणा गराउन नपाइनेमा जोड दिँदै उनले भने, ‘ओलीले आफ्ना हमुमानको मात्र संरक्षण गरे।’ पार्टीभित्रका इमान्दार कार्यकर्ताको उचित मूल्यांकन उनले नगरेको उनले धारणा व्यक्त गरे। आफूहरुले ओलीलाई घेराबन्दीमा नभइ आफूहरु ओलीको तानाशाही शैलीले वाक्कदिक्क भएको बताए।

प्रकाशित: ८ माघ २०७७ ११:२५ बिहीबार

माधव नेपाल संसद विघटन नेकपा विभाजन