राजनीति

प्रचण्डलाई प्रधानमन्त्रीको प्रश्न – भारतीय टेलिभिजनलाई दिएको अन्तर्वार्ता कसरी नौटङ्की भयो ?

फाइल तस्वीर

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्यक नेपालीमा देशभक्तिको भावना हुनुपर्ने बताएका छन्। उनी निकट प्रेस संगठन नेपालले काठमाडौंमा आयोजना गरेको भेलामा प्रधानमन्त्री ओलीले प्रत्यक नेपालीमा मनदेखि नै देशभक्ति हुनुपर्ने बताए।

सम्बोधनका क्रममा उनले भारतीय टेलिभिजन जी न्युजलाई दिएको अन्तवार्ताको बचाउ गरेका थिए। उनले जी न्युजका सम्पादक सुधीर चौधरी सगरमाथाबारे गरेको टिप्पणीको पनि बचाउ गरको थिए। नेपालमा आवश्यकताभन्दा बढी सुधीरले गरेको टिप्पणीको चर्चा गरेको ओलीको भनाई छ। प्रधानमन्त्री ओलीले अनावश्यक चर्चा गरेर राष्ट्रवादका नाममा नाटक गर्न खोजिएको आरोप लगाए।

केहीदिनअघि भारतीय टेलिभिजन जी न्युजका सम्पादक चौधरीले नेपाल आएर प्रधानमन्त्री ओलीसँग अन्तर्वार्ता लिएका थिए। सोही क्रममा चौधरीले सगरमाथाबारे विवादास्पद रिपोर्ट बनाएर प्रसारण गरेका थिए।  

त्यसपछि चौधरी र प्रधानमन्त्री ओलीको नेपालमा चर्को आलोचना भएको थियो। विशेषगरी प्रचण्ड–नेपाल समूहले राष्ट्रवादी देखाउन ओलीले अन्तर्वार्ता दिएको आरोप लगाएका थिए। एक सार्वजनिक कार्यक्रममा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओलीले भारतीय टेलिभिजनलाई अन्तवार्ता दिएर नौटङ्की देखाएको आरोप लगाएका थिए।  

उनलाई जवाफ दिँदै आज प्रधानमन्त्री ओलीले उक्त अन्तर्वार्ता ‘कसरी नौटङ्की हो?’ भनेर प्रश्न गरे। ‘उहाँहरुले पनि विदेशीलाई कहिल्यै कहिल्यै अन्तर्वार्ता दिनुभएको छ। के बोल्नुभएको छ अन्तर्वातामा? देशको इज्जत राख्नुभएको छ? नक्कली कुरा गर्नु देशभक्ति होइन। साँचो अर्थमा हामीले यो देशलाई माया गर्नुछ,’ ओलीले भने।

प्रकाशित: ८ माघ २०७७ १०:१७ बिहीबार

केपी शर्मा ओली प्रचण्ड