राजनीति

कम्युनिस्ट पार्टीको नाममा अलोकतान्त्रिक शासनको जन्म भयो : योगेश भट्टराई

फाइल तस्वीर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका नेता योगेश भट्टराईले आफूहरुको समूहलाई ‘दुध विक्री गर्ने पसल’ र ओली समूहलाई ‘रक्सी बेच्ने पसल’को संज्ञा दिएका छन्। मंगलबार काठमाडौंमा आयोजित प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता भट्टराईले संसद् विघटनपछि दुईवटा पसल खुलेको र दुःध विक्री गर्ने पसल वा रक्सी भट्टितिर जाने भन्ने निर्णय गर्ने बेला आएको बताए।  

उनले प्रचण्ड र माधव नेपाल रहेको पार्टी नै आधिकारिक पार्टीको दाबी गरे। र, आफूहरुको पार्टीले समाजवादउन्मुख व्यवस्थाका लागि पहल गरिरहेको उनको दाबी छ।  

उनले आफ्नै पार्टीभित्रका महाराजहरुलाई देख्न नसकेको समेत बताए। नेपालमा भएका पटक–पटकका राजनीतिक क्रान्तिहरुले बाहिर देखिएका महाराजलाई फालेपनि आफ्नै पार्टीभित्रका महाराजहरुलाई देख्न र फाल्न नसकेको उनले बताए। त्यस्ता महाराजलाई हटाउनको लागि पुनः आन्दोलन गर्नुपरेको नेता भट्टराईको भनाई छ।

‘अबको क्रान्ति, संघर्ष र जागरणले हाम्रो छेवैमा भएका महाराजहरु रहदैनन् भन्ने संकल्प गर्नुपर्छ। कम्युनिस्ट पार्टीको नाममा अलोकतान्त्रिक शासनको जन्म भयो,’ उनले भने,‘यसको हिसाब किताब चुक्ता गर्नुपर्नेछ। विधान, संविधान र जनअधिकारको खिलाफमा जाने शासक जन्मदैन भन्ने संकल्प गर्नुपर्नेछ।’

प्रकाशित: ६ माघ २०७७ ०९:४९ मंगलबार

योगेश भट्टराई संसद् विघटन