राजनीति

प्रचण्डतर्फ संकेत गर्दै ओलीले भने – हामी हिंसामा विश्वास गदैनौं, जनतामा विश्वास गर्छौं

फाइल तस्वीर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले केही नेताहरुले युवाहरुलाई भड्काउन खोजेको आरोप लगाएका छन्। प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ ले संसद् विघटनविरूद्धको आन्दोलनमा युवाहरुलाई आक्रामक रूपमा प्रस्तुत हुन भनी दिएको दिर्नेशनप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले युवाहरुलाई भड्काउन खोजिएको आरोप लगाएका हुन्।

यसअघि गत आइतबार प्रचण्ड–नेपाल पक्षीय अनेरास्ववियूको भेलालाई सम्बोधन गर्दै प्रचण्डले संसद् विघटन विरूद्धको आन्दोलनमा आक्रामक रूपमा प्रस्तुत हुन निर्देशन दिएका थिए।

मंगलबार नेकपा नुवाकोटका काठमाडौँमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आफूहरु शान्तिपूर्ण गतिविधिका पक्षमा रहेको समेत बताए। ‘हामी हिंसामा विश्वास गर्दनौँ, जनतामा विश्वास गर्छौं। विगतमा लडाकुका रकमका नाममा वा निर्वाचनका नाममा गरिएका जस्ता अनियमिततता अब हुँदैन,’ ओलीले भने।

ओलीले पार्टीका सबै जिल्लाका, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन समेत दिएका छन्। उनले प्रतिनिधि सभा विघटन भएर निर्वाचनको मिति घोषणा भइसकेकाले जनस्तरमा पुगेर सक्रिय हुन कार्यकर्तालाई निर्देश गरे।  

‘प्रतिनिधि सभा पुनःस्थापना हुन्छ वा निर्वाचन हुँदैन भन्ने भ्रममा नपर्न म आग्रह गर्दछु,’ ओलीले भने, ‘हामीले लिएको सही विचार र मुलुकको समृद्धिका लागि म सबैलाई एकताबद्ध भई पार्टीको शुद्धीकरण अभियानमा गतिशील हुन अनुरोध गर्दछु।’

प्रकाशित: ६ माघ २०७७ ०९:२३ मंगलबार

प्रचण्ड ओली