राजनीति

चार न्यायाधीशहरुलाई आफूले भेटेको प्रमाणित गर्न प्रधानमन्त्री ओलीको चुनौति

शनिबार काठमाडौंवासी प्रदेश नम्बर १ का अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली। तस्वीरः प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाको फेसबुकबाट

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको विषय सर्वोच्चमा विचाराधीन रहेको अवस्थामा आफूले कुनै न्यायाधीशलाई नभेटेको बताएका छन्। शनिबार ओली पक्षीय नेकपाको प्रदेश १ ले काठमाडौंमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद् विघटनको मुद्दालाई हेरिरहेका चार जना न्यायाधीशसँग आफूले भेटेको भनेर गलत प्रचार गरिएको बताए।

‘फलानो–फलानो न्यायाधीश प्रधानमन्त्रीकहाँ भेट्न गए। यति बजेदेखि यतिबजेसम्म भेटे भनेर प्रचार गरियो। यो भन्दा ठूलो झुठ, योभन्दा बढी बेइमानी के हुन सक्छ?,’ उनले भने,‘न्याय प्रणालीमाथिको जनताको विश्वास घटाउनका लागि न्यायप्रणालीमाथि यो गम्भीर प्रहार हो, यो भन्दा घिनलाग्दो के हुनसक्छ?'

प्रधानमन्त्री ओलीले न्यायाधीशहरुलाई आफूले भेटेको प्रमाणित गर्न समेत चुनौति दिए। ‘उहाँहरु यो कुरालाई प्रमाणित गरेर देखाउन सक्नु हुन्छ? ती नाम गरेका न्यायाधीशजीहरुलाई मैले सायद कहिले पनि भेटेको छैन। मैले निर्णय गर्दा सपना प्रधान मल्ललाई भेटेको थिएँ। सर्वोच्चको न्यायाधीश हुनुभन्दा अगाडि वकिल भएको बेला। यस्तै कार्यक्रममा देखेको हुँ। अरु न्यायाधीशहरुलाई देखेको पनि छैन। सायद चिनेको पनि छैन,’ ओलीले भने।

यसअघि, शुक्रबार प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइका क्रममा निवेदकमध्येकी शशी श्रेष्ठले सर्वोच्च अदालतको संवैधानिक इजलासका चार जना न्यायाधीशहरुले प्रधानमन्त्री ओलीलाई भेटेको आरोप लगाएकी थिइन्।

अर्को प्रसंगमा पधानमन्त्री ओलीले नेपालका केही बुद्धिजीवी तथा राजनीतिज्ञहरुले मुलुकका सम्मानित संस्थाहरुमाथि अपमान गर्ने, गाली बेइज्जती गर्ने काम गरेको आरोप लगाए। उनीहरुले देशका राष्ट्रपति, प्रधानमन्त्री, अदालत, निर्वाचन आयोग लगायतमाथि अनावश्यक दबाब दिने र गाली बेइज्जती गर्ने गरेको ओलीको आरोप छ।

प्रकाशित: ३ माघ २०७७ ११:११ शनिबार

केपी शर्मा ओली संसद विघटन