राजनीति

राजपा र समाजवादी पार्टीबीच कर्णालीमा पार्टी एकता

राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच कर्णालीमा पार्टी एकता भएको छ । केन्द्रमा पार्टी एकता भएको लामो समयपछि कर्णालीमा एक सय ५१ सदस्यीय समिति हुने गरी पार्टी एकता भएको हो ।

राजपाले अध्यक्षसहित ४० जना सदस्य र समाजवादीले मुख्य सचिवसहित एक सय ११ जना सदस्य हुने गरी कर्णालीमा पार्टी एकता गरेको बताइएको छ । दुई पार्टी एकता भएर निर्माण भएको जनता समाजवादी पार्टीको पदाधिकारीमा पाँचजना राजपा र १० जना समाजवादीका रहेका छन् । देवीकृष्ण न्यौपाने अध्यक्ष, दिलकुमारी खड्का, प्रेम बोहरा, लाले कुमाल, भरत खत्री, पवित्रराज शर्मा, एविर मिजार, लिला सिजापति उपाध्यक्ष, चन्द्रा विक मुख्य सचिव, राजेश पुन, छविलाल गौतम, सन्तोषी विक, राजेन्द्र शाही सचिव र नगेन्द्रबहादुर शाही कोषाध्यक्षमा चयन भएका छन् । एकता प्रक्रियापछिको नयाँ समितिलाई घोषणा गर्दै जनता समाजवादी पार्टीको केन्द्रीय सचिव भक्तबहादुर शाहले आफूहरु वैकल्पिक शक्तिका रुपमा स्थापित हुन पार्टी एकता गरेको बताए । 

‘अहिले संविधान आधा गिलासमा पानी जस्तै छ,’ उनले भने, ‘संविधानले आन्दोलनमा उठेका पूरा माग संवोधन गरेको छैन ।’ नेपाली समाजको आफ्नो पहिचान र अधिकार संविधानमा उल्लेख नभएको बताए । साथै संसदीय प्रणालीमा भएको त्रुटिले अहिले देश संकटमा परेको भन्दै उनले भने, ‘अध्यक्षीय तथा राष्ट्रपति प्रणालीमा जाँदा अहिलेको अस्थिरता खट्छ ।’

प्रकाशित: ३ माघ २०७७ ०५:५८ शनिबार

राजपा र समाजवादी पार्टी पार्टी एकता