राजनीति

ओलीको कदमविरुद्ध प्रचण्ड-नेपाल पक्षद्वारा दोस्रो चरणको आन्दोलन घोषणा (सूचीसहित)

फाइल तस्बिर : प्रचण्ड-नेपाल पक्षले गत मंगलबार काठमाडौंमा गरेको विरोध प्रदर्शन

नेकपाको प्रचण्ड-नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ।  

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रचण्ड–नेपाल समूहले यही पुस २० देखि माघ २३ सम्मको चरणबद्ध संघर्ष घोषणा गरेको हो।

यसअघि प्रचण्ड-नेपाल पक्षले गत मंगलबार देशभर विरोध प्रदर्शन तथा सभा गरेको थियो। 

प्रधानमन्त्री ओलीको सिफारिसमा यही पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन र वैशाख १७ २७ गतेका लागि चुनाव घोषणा गरेपछि नेकपाभित्रका दुई पक्ष औपचारिक रूपमा अलग भएका छन्।  

ओली पक्ष संसद् विघटनलाई सही साबित गर्ने कसरतमा छ भने प्रचण्ड-नेपाल समूह ओलीको कदम असंवैधानिक ठहर गर्दै संसद् पुनः स्थापनका लागि आन्दोलनमा होमिएको छ। 

यस्ता छन् दोस्रो चरणको संघर्षको सूची  

१. पुस २० गतेसम्म पालिकास्तरमा र २५ गतेसम्म वडास्तरमा पार्टी भेला र संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम

२. पुस २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडास्तरमा संघर्ष समिति गठन

३. पुस २१ गते संघीय राजधानी र विभिन्न सहरी केन्द्रहरूमा राजनीतिक पार्टीहरूसँग अन्तरक्रिया

४. पुस २३ गते नागरिक समाजसँग अन्तरक्रिया  

५. पुस २४ गते सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र र संविधानको पुस्तक दिने र राष्ट्रका नाममा क्षमा याचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने

६. पुस २६ गते सडक संविधान वाचन व्याख्या कार्यक्रम  

७. पुस २७ गते सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १, २८ गते प्रदेश २, गण्डकी र कर्णाली तथा २९ गते बाग्मतीमा बृहत् कार्यकर्ता भेला  

८. पुस २८ गते घरघरमा पर्चा वितरण, गाउँटोलमा कालो झण्डा गाड्ने र असंवैधानिक एवं प्रतिगामी कदमविरुद्ध सबै वडामा ब्यानर राख्ने  

९. पुस २९ गते निर्वाचन क्षेत्रस्तरयि कार्यकर्ता भेला  

१०. पुस ३० गते सबै वडामा विरोध प्रदर्शन र सभा  

११. माघ ५ गते सबै पालिकामा विरोध प्रदर्शन र सभा

१२. माघ १० गते राजधानीलगायतका सबै सहरी केन्द्रमा मोटरसाइकल र्‍याली।

१३. माघ १६ गते प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा र माघ १७ गते प्रदेश २ मा विरोध सभा

१५. माघ २२ गते वडा तहमा मसाल जुलुस  

१६. माघ २३ गते राजधानीमा विरोध प्रदर्शन 

प्रकाशित: १८ पुस २०७७ ०९:४० शनिबार

ओली प्रचण्ड-नेपाल