राजनीति

केपी ओली कम्युनिस्ट पार्टीमा छिपेर बसेको गोमन सर्प रहेछन् : जनार्दन शर्मा

फाइल तस्वीर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल पक्षका नेता जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘छिपेर बसेको गोमन सर्प’ को संज्ञा दिएका छन्। बिराटनगरमा शनिबार आयोजित कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै नेता शर्माले प्रधानमन्त्री ओलीलाई ‘कम्युनिस्ट पार्टीमा छिपेर बसेको गोमन सर्प’को संज्ञा दिएका हुन्।  

‘पार्टीभित्र अन्तरविरोध हुन्छ, तर त्यसलाई विधिमा टेकेर समाधान गर्नुपर्छ,’ उनले भने, ‘तर ओलीले संविधानलाई समाप्त पार्नेगरी, जनमतको अपमान हुनेगरी निर्णय गर्नुभयो। त्यसो किन गर्नुभयो भन्दा केपी ओली कम्युनिस्ट पार्टीमा लुकेर बसेको गोमन सर्प रहेछन्। जसले नेपालको स्वाधीनतालाई डस्यो, स्वाभिमानलाई डस्यो, त्यसैहले हामी ठूलो विडम्बनामा छौं।’

प्रधानमन्त्री ओलीले संस्था, व्यवस्था, विधि, संविधान, जनमत सबैको अपमान गरेको उनको आरोप छ। उनले आफूले आरोप नलगाई तथ्यमा रहेर बोलेको समेत दाबी गरे।  

उनले संसद विघटनपछि प्रधानमन्त्री ओली समाप्त भएको समेत जिकिर गरे। ‘केपी ओली समाप्त भइसक्नुभयो। उहाँ कठपुतली भइसक्नुभयो,’ उनले भने, ‘उहाँ देशको सबैभन्दा निरीह प्रधानमन्त्री हो। उहाँ पावरको दम्भले समाप्त भइसक्नुभयो।’

प्रकाशित: १८ पुस २०७७ ०९:०४ शनिबार

संसद विघटन केपी ओली