राजनीति

निर्वाचन आयोगमा परेको निवेदनबारे प्रधानमन्त्रीले बोले झुट

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-माधव समूहले पार्टीको आधिकारिकता र सूर्य चिह्न माग गर्दै निर्वाचन आयोगमा दिएको निवेदन कानुनी रित नपुगेकोले फिर्ता भएको बताएका छन्।

प्रचण्ड-माधव समूहका वहुमत नेकपा केन्द्रीय सदस्यले नेकपा र सूर्य चिह्नको आधिकारिकता माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए।  

आफू निकट प्रवासी नेपाली एकता मञ्चको भर्चुअल कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले प्रचण्ड-माधव समूहको निवेद खारेज भएको र आधिकारिक पार्टी र सूर्य निह्ह आफुहरुको भएको बताएका थिए।

तर निर्वाचन आयोगले यसबारेमा कुनै निर्णय नभएको बताएको छ। आयोगका प्रवक्ता राजकुमा श्रेष्ठले निवेदन खारेज गरेको बारेमा आफुलाई कुनै जानकारी नभएको बताए। ‘उहाँहरुले निर्वाचन आयोगमा निवदेन दिनुभएको रहेछ। आयोगले हिजो उहाँहरुको निवेदन रित नपुगेको र अनुचित भनेर फिर्ता पठाइदियो। उहाँहरुको आधिकारिक पार्टी हामी हौं भन्ने दाबी रहेको थियो। त्यो दाबी निवदेनमा अंग नपुगेको, व्यहोरा नपुगेको, कानुन पनि उल्लेख नभएको, केही प्रमाण नभएको यसको केही अर्थ छैन भनेर फिर्ता पठाइदियो,’ ओलीले भने।

सूर्य चिह्न आफुहरु भएकोले निर्वाचन आयोग जान आवश्यक नभएको उनले बताए। ४८ सालदेखि सूर्य चिह्न आफुहरुको भएको उनले बताए।

निर्वाचन आयोगका कानुन शाखाका उपसचिव गंगा खरेलले निवेद राखेजीबारे आफुले पत्र नपाएको बताए। आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले पनि उक्त विषयमा जानकारी नपाएको बताए।

नेकपा दाहाल नेपाल समूहका नेता कृष्णभक्त पोखरेलले निवेदन खारेज नभएको बताए। 'निवेदन हामीले दर्ता गरिसकेका छौं। यसमा आयोगले आफ्नो निर्णय दिन बाँकी छ', उनले भने, 'प्रधानमन्त्रीले सरासर झुट बोल्नु भयो।'  

 

 

 

प्रकाशित: १७ पुस २०७७ १२:२१ शुक्रबार

नेकपा केपी ओली