राजनीति

ओली देशको कार्यकारी प्रमुख हुनु नै दुर्भाग्य : नेता पौडेल

राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली कांग्रेस कास्कीले आयोजना गरेको प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल। तस्बिर : उमेश पुन <div><br></div>

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले गणतन्त्र विरोधी केपी शर्मा ओली देशको कार्यकारी प्रमुख हुनु दुर्भाग्य भएको टिप्पणी गरेका छन्। ४५ औं राष्ट्रिय एकता दिवस तथा मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस कास्कीले विहीबार पोखरामा आयोजना गरेको ‘वर्तमान अवस्थामा राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सान्दर्भिकता’ विषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनआन्दोलनताका गणतन्त्र विरोधी अभिव्यक्ति दिने ओली नै त्यहि प्रणालीको कार्यान्वयन गर्ने कार्यकारी प्रमुख हुँदा समस्या उत्पन्न भएको बताएका हुन्। २०६२/६३ को जनआन्दोलनताका ओलीले नेपालमा गणतन्त्र आउनु भनेको वयलगाडामा चढेर अमेरिका पुग्नुजस्तै हो भन्नु भएको थियो, ‘उनले अगाडि भने,‘ आखिर उहाँले नपत्याएको भयो। उहाँले नचाहेको कुरा भयो, नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र आयो। तर दुर्भाग्यले कहाँ कहाँबाट उहाँ नै त्यसको कार्यकारी प्रमुख हुनुभो। यो नेपालको विडम्वना हो।’ गणतन्त्र विरोधी ओलीले राज्यसत्ता आफ्ना हातमा आएपछि गणतन्त्र मास्नका लागि संसद विघटन गरेको उनको आरोप छ। ‘उहाँले जे कुरा जनआन्दोलनताका अस्वीकार गर्नु भएको थियो अहिले आएर उहाँले त्यही संविधान र प्रणाली मान्दिन भनेर संसद विघटन गर्नु भएको हो’–उनले भने।

बरिष्ठ नेता पौडेलले केपी ओलीका कारण देश भुमरीमा फसेको आरोप लगाए। ओलीले कसैको ईशारामा ओलीले देशलाई भुमरीमा फसाएको उनको आरोप छ। उनले नेपाललाई झण्डै झण्डै अफ्गानिस्तान बनाउन खोजेको भन्दै यसबाट बचाउन अब अदालतले मात्र सक्ने बताए। यसका लागि दवाब दिन आवश्यक रहेको बताउँदै उनले भने,‘संसद पुर्नस्थापनाले मात्र नेपाललाई विग्रहबाट बचाउँछ, संविधान र संसद बचाउँछ।’

बरिष्ठ नेता पौडेलले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक भएको दाबी गरे। संविधान सभा विघटन गर्ने प्रावधान यो संविधानमा कहिंपनि छैन,‘उनले भने,‘यो जनमत विरोधी, राष्ट्रविरोधी र संविधान विरोधी छ।’ उनले संसद विघटन भंग भइनसकेको दाबीसमेत गरे। संसद भंग भएकै छैन,उनले भने,‘किनकी संविधानले संसद भंग गर्ने अधिकार प्रधानमन्त्रीलाई दिएकै छैन।’ उनले संसद पुर्नस्थापना हुने प्रतिक्षा गर्ने ठाउँ अदालत भएको बताउँदै अदालतले प्रधानमन्त्रीको कदम सच्याएर संसद पुर्नस्थापना गर्नुपर्ने बताए।

कांग्रेस दुविधामा नअल्झि संसद विघटन गर्ने कदमको विरोधमा उत्रिनुपर्ने पौडेलले बताए। अदालतले सुन्ने गरेर कांग्रेसले विरोध गर्नुपर्छ,उनले भने,‘यसले संसद पुर्नस्थापनाका लागि अदालतलाईपनि बल पुग्छ।’ न्यायमूर्तिहरुलाई मेरा आह्वान छ,उनले भने,‘संविधान राम्रोसँग पढिदिनुस्, संविधानको अक्षर, यसको भावना र विधि दाता (संविधान बनाउनेको मत)को भावना अनुसार आदेश दिनुस्।’

बरिष्ठ नेता पौडेलले कांग्रेस कम्युनिष्टसँग मिल्न हुँदैन भन्ने गलत भएको टिप्पणी गरे। कम्युनिष्टसँग मिलेकै कारणले २०४६ सालमा बहुदलीय प्रजातन्त्र र २०६३ सालमा लोकतान्त्रिक गणतन्त्र आएको दृस्टान्त दिदै अहिलेपनि कम्युनिष्टसँग मिल्नुपर्ने आवश्यक्ता औंल्याए। कम्युनिष्टसँग मिलेर कांग्रेसलाई के नोक्सान भयो ? उनले प्रश्न गर्दै अगाडि थपे,‘कांग्रेसलाई कम्युनिष्टसँग मिल्दा फाईदै भएको छ, तर कांग्रेस आफैले गल्ती गर्दा सत्ता गुमेको हो।’

आत्मविश्वास नभएको र दरबार परस्तले मात्रै कम्युनिष्टसँग मिल्न हुँदैन भनेर भन्ने गरेको उनले आरोप लगाए। पश्चगामी दरबार परस्तहरुले आफू धुलिसात हुने डरले कांग्रेसलाई कम्युनिष्टसँग मिल्न हुँदैन भनेर भड्काउने गरेको उनको आरोप छ। उनले मेलमिलापको बैरी दरबार भएको बताउँदै दरबारले सँधै धोका दिएको बताए। उनले कांग्रेसलेपनि विगतमा गल्ती गरेर सत्ता गुमेको भन्दै अब कांग्रेसपनि सच्चिएर अघि बढ्नुपर्नेमा जोड दिए।

 

 

प्रकाशित: १६ पुस २०७७ १२:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App