राजनीति

प्रदेशसभा विघटन हुँदैन : प्रवक्ता कार्की

प्रदेश १ सरकारका प्रवक्ता तथा  आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले कुनै पनि हालतमा प्रदेशसभा विघटन नगर्ने बताएका छन्। बुधबार विराटनगरमा पत्रकारसँगको भेटघाटमा मन्त्री कार्कीले सरकार ढल्ने अवस्था आए प्रदेशसभा विघटन हुने हल्ला निराधार रहेको बताए।  

प्रदेश १ का मुख्यमन्त्री शेरधनराई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै विभिन्न खालका हल्ला चलेको बताउँदै कार्कीले प्रदेशसभा विघटन नगर्ने स्पष्ट पारेका हुन्। मुख्यमन्त्री अल्पमतमा परे प्रदेशसभा विघटन गर्ने चर्चा प्रदेश १ मा व्यापक छ।  ‘प्रदेशसभा बचाउँनकै लागि अविश्वासको प्रस्तावको सामना गर्ने तयारी हामीले गरेका हौं’, कार्कीले भने, ‘विघटन गर्ने भए अविश्वासको प्रस्ताव दर्ता हुनु अगाडि नै  गरिसक्थ्यौं।’  अविश्वासको प्रस्ताव प्रदेशसभाबाटै छिनोफानो हुने कार्कीले स्पष्ट पारे। कार्कीले अझै पनि मुख्यमन्त्रीका पक्षमा बहुमत रहेको दाबी गरे। ‘मुख्यमन्त्री शेरधन राईको पक्षमा बहुमत पुग्ने भएकाले यहि सरकारले प्रदेश १ मा निरन्तरता पाउँछ’ उनले भने। पुस १२ गते प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध सत्तारुढ नेकपाका ३७ जना प्रदेशसभा सदस्यहरूले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।  

कार्कीले संसदीय दलको नेताबाट मुख्यमन्त्री शेरधन राईलाई हटाउने प्रस्ताव  विधान विपरित आएको बताएका छन्।  कार्कीले दलको नेताबाट हटाउने प्रस्ताव दलका प्रमुख सचेतक मार्फत आउनु पर्नेमा त्यसरी नआएकाले विधान विपरित भएको बताएका हुन्। विधान अनुसार संसदीय दलको नेता हटाउने प्रस्ताव उप नेताले प्रमुख सचेतक मार्फत संसदीय दलमा पेश गर्नुपर्ने व्यवस्था रहेको कार्कीको दाबी छ।  

प्रकाशित: १५ पुस २०७७ १३:१३ बुधबार