राजनीति

माधव नेपालको दाबी : छिट्टै संसद् पुनःस्थापना हुन्छ

फाइल तस्बिर

नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड-नेपाल पक्ष) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती स्वीकार गरे अझै पार्टी एकता सम्भव भएको बताएका छन्।  

मंगलबार काठमाडौंमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेपालले ओली सच्चिए आफूहरू सबै कुरा भुल्न तयार रहेको बताएका हुन्।

‘ओलीले गल्ती स्वीकार गर्नुहुन्छ भने हामी सबै कुरा बिर्सन तयार छौं,’ उनले भने, ‘तर, त्यही प्रवृत्ति दोहोर्‍याउनुहन्छ भने भीरमा खस्न लागेको गोरुलाई रामराम भन्न सकिन्छ काँध थाप्न सकिँदैन।’

उनले प्रधानमन्त्री ओलीमा व्यक्तिवाद, गुटवादजस्ता अलोकतान्त्रिक प्रवृत्ति हावी भएको आरोप लगाउँदै त्यही कारण पछिल्लो समस्या उत्पन्न भएको बताए।  

‘ओली एकपछि अर्को प्रतिगामी कदम चाल्दै आउनुभएको छ,’ उनले भने, ‘संविधानका विरुद्धमा, जनाधिकार विरुद्धमा ओलीले कदम चाल्ने गर्नुभएको छ, जुन धेरै समयसम्म टिक्ने छैन।’

उनले अहिलेको आन्दोलन कुनै व्यक्तिका विरुद्ध नभएर व्यक्तिमा रहेको अहंकार प्रवृत्तिका विरूद्ध भएको बताए।  

प्रधानमन्त्री ओलीको पछिल्लो कदम हरेक कोणबाट अनुपयुक्त भएको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यो दिगो नहुने बताए। ‘सबै राजनीतिक शक्ति सडकमा उत्रिसकेका छन्। समाजका बुद्धिजीवी, शिक्षक, विद्यार्थी, आन्दोलनमा होमिसकेका छन्,’ उनले भने, ‘अब छिट्टै संसद पुनःस्थापना हुन्छ।’

अर्को प्रसंगमा नेता नेपालले प्रधानमन्त्री ओली लोकतान्त्रिक चरित्र भएको व्यक्ति भएको टिप्पणी गरे। ‘ओलीमा निरंकुशतावाद सोच हावी छ, बदलाको भाव हावी छ,’ उनले भने, ‘ओली ठूलो हृदय भएको व्यक्ति होइनन्।’

नेता नेपालले प्रधानमन्त्री ओलीलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहसँग तुलना गर्नसमेत भ्याए।  

प्रकाशित: १४ पुस २०७७ ०९:५८ मंगलबार

प्रधानमन्त्री केपी शर्मा ओली माधव नेपाल