राजनीति

केपी ओली श्री ३ महाराज बन्ने बाटोमा : प्रचण्ड

फाइल फोटो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सर्वोच्च अदालतले असंवैधानिक तवरबाट विघटित प्रतिनिधिसभा तत्काल सुचारु गर्ने आदेश दिने विश्वास व्यक्त गरेका छन्। जनसांस्कृतिक महासंघ नेपालले काठामाडौंमा आयोजना गरेको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अदालतबाट आफूहरुको पक्षमा आदेश दिने विश्वास व्यक्त गरेका हुन्।

‘मलाई विश्वास छ, अदालतले संसद सुचारु गर्न आदेश दिनेछ,’ उनले भने,‘यति सामान्य कुरा अदालतले बुझ्दैन भने अदालतको सम्मानप्रति अपमान हुन्छ।’  

उनले संसद विघटन नभएको बरु केपी ओली नेतृत्वको सरकार विघटित भएको दाबी गरे। संविधानले यति सजिलै संसद विघटन गर्ने परिकल्पना नगरेको उनको भनाई छ। ‘सदन मरेको छैन, सदन जीवित छ,’ उनले भने, विघटित भएको ओली सरकार हो।’

प्रधानमन्त्री ओलीले संविधानको मर्म र भावनामाथि निर्मम र क्रुर ढङ्गले प्रहार गरेको प्रचण्डको दाबी छ। ‘नेपाली जनताको बलिदानी र सङ्घर्षबाट प्राप्त भएको सार्वभौम अधिकारमाथि प्रहार भएको छ,’ उनले भने,‘पौने तीन करोड जनताको भावनामाथि निर्मम ढङ्गले प्रहार भएको छ।’

केपी ओलीश्री ३ महाराज बन्ने जंगे बाटोमा हिँडे

प्रचण्डले प्रधानमन्त्री ओली सामन्ती शासकहरुको जंगे बाटोमा हिँडेको समेत आरोप लगाए। ‘केपी ओली सामन्ती शासकहरुको श्री ३ महाराजधिराज बन्ने जंगे बाटोमा हिँडे।’ उनले भने,‘हाम्रो विजय भइसक्यो।’

केपी ओलीले कलङ्कको टीका लगाए

असंवैधानिक कमद चालेर प्रधानमन्त्री ओलीले कलङ्कको टीका लगाएको प्रचण्डको आरोप छ। ‘ओली पराजित हुनुभयो। हाम्रो विजयको अभियान सुरु भयो,’ उनले भने,‘ओलीले कलङ्को टीका लगाए। हामीहरु संविधान, जनता र लोकतन्त्रको पक्षमा छौं।’

साथै उनले आफूहरु सडकमा पुगेको नभई जनताको साथमा गएको पनि दाबी गरे। ‘हामी सडकमा पुगेका होइनौं। मलाई के लाग्छ भने हामी जनताको साथमा पुगेका हौं।’

केपी ओलीले हारे, हामीले बाजी जितिसक्यौं

असंवैधानिक कदम चालेपछि प्रधानमन्त्री ओलीले बाजी हारेको प्रचण्डको जिकिर छ। ‘केपी ओलीले बाजी हारे, हामीले बाजी जित्यौं,’ उनले भने, ‘ओलीले हामीलाई जनताको पक्षमा लड्ने योद्धा बनाइदिनुभो। ओलीजी धन्यवाद तपाईंले हामीलाई जनतामा जाने मुद्दा दिनुभयो।’आफूहरु अब संविधान, जनता र लोकतन्त्रको पक्षमा लड्ने उनको दाबी छ।

अर्को प्रसंगमा उनले पूर्वमाओवादीबाट ओलीतर्फ गएकाहरु फेरि आउने दाबी गरे। ‘उहाँहरु विगतमा पनि जाने गर्नुहुन्थ्यो, फेरि पनि जानुभयो। यसमा आश्चर्य मान्नुपर्ने केही छैन,’ उनले भने,‘मलाई के विश्वास छ भने उहाँहरु आगामी वैशाखमा हामी भएकै ठाँउमा आउनुहुनेछ।’

सम्बोधनका क्रममा उनले गत वर्षको स्थायी कमिटी बैठकमा आफ्नो कुर्सी पछाडि सारेको विषयको चर्चा गरेका थिए।

प्रकाशित: १३ पुस २०७७ १०:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App