राजनीति

देव गुरुङ भन्छन् : ओली सरकार संकटकाल लगाउने तयारीमा छ

नेकपा गण्डकी प्रदेश कमिटीको आयोजनामा सोमबार पोखरामा पत्रकार सम्मेलनमा बोल्दै नेकपाका सचेतक देव गुरुङ । तस्बिर ः सन्देश श्रेष्ठ÷नागरिक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली सरकारले संकटकाल लगाउने तयारी गरिरहेको दावी गरेका छन् ।  

नेकपा गण्डकी प्रदेशले सोमबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले संसद पुर्नस्थापना गर्न नसके संविधान र अदालत पनि सिध्याएर देशमा संकटकाल लगाउने तयारीमा प्रधानमन्त्री ओली रहेको बताएका हुन् । त्यसपछि देश राष्ट्रपतीय शासन प्रणालीमा जाने र सर्वसत्तावाद शुरु हुने उनले बताए ।  

‘ओलीको कदम प्रतिगामी भएकाले सच्चिन जरुरी छ,’ उनले भने, ‘संसद विघटन गर्ने ओलीको कदम खारेज गर्न सकिएन भने संकटकाल लगाएर संविधान र त्यसका धाराहरु निस्कृय बनाईन्छ । त्यसबेला बन्दी प्रत्यक्षीकरण र मौलिकहक अधिकारसँग सम्बन्धित धारा र दफाहरु मात्रै बाँकी हुन्छन् । अदालतले पनि सामान्य फौजदारी र सामान्य प्रकारका देवानी मुद्धा बाहेक अरु हेर्न पाउँदैन र देशमा राष्ट्रपतीय शासन सञ्चालन हुन्छ ।’

ओलीले देश फाँसीवादतर्फ उन्मुख भएको पनि बताए । संसद विघटन गरेर संकटकाल लगाउने, अदालत र संविधान सिध्याउने खेलमा लागेका ओली फाँसीबादतर्फ उन्मुख भएको उनको आरोप छ । अहिले ओलीले चालेको कदम पूर्वराजा महेन्द्रले २०१७ र ज्ञानेन्द्र शाहले २०५९ सालमा चालेको संवैधानिक ‘कू’ सँग तुलना गर्दै उनले भने, ‘यो सर्वसत्तावाद हो । एकाधिकारवाद हो, निरंकुशतावाद र फाँसीबाद हो ।’ उनले प्रधानमन्त्री ओलीमा रहेको सर्वसत्तावादी चिन्तन, एकाधिकारवादी चिन्तन, निरंकुश प्रवृत्ति र फाँसीबादी चिन्तनको उपजका कारण देश दुर्घटनामा परेको बताए । यसैमा टेकेर विदेशी शक्ति राष्ट्रले खेल्ने प्रयास गरेको उनले आरोप लगाए ।

नेता गुरुङले विदेशी सेनाले नेपाली भूमिमा मार्चपास गर्ने नियतले संसद विघटन गरेको र सोहि योजना अनुरुप अब चाँडै अदालत र संविधान पनि सिध्याउने षडयन्त्र भइरहेको बताए । ‘संसद रहेसम्म विदेशी सेनाले मार्चपास गर्न पाउने अवस्था थिएन,’ उनले भने, ‘त्यहि भएर विदेशी सेनाको मार्चपासविरुद्ध बाधक बनेको देशभक्त पार्टी नेकपा विभाजित गरियो, संसद विघटन गरियो, अब चाँडै संविधान र अदालत पनि सिध्याउँदैछ ।’  

देशको रक्षाका लागिपनि अ‍ेलीको कदमविरुद्ध लड्नुपर्ने भन्दै उनले अगाडि थपे, ‘संसद, अदालत, संविधान सिद्धिने र नेपाल कम्युनिष्ट पार्टी सिद्धिएपछि विदेशी सेना भित्रिने मूलबाटो खुल्छ । त्यसपछि देशको अस्मीतामाथि, स्वाधिनतामाथि विदेशी सेनाको क्रिडास्थल बनाउने कुराको शुरुवात गर्न थालिएको छ । यसबिरुद्ध जुध्न जरुरी छ ।’  

यो सबै विदेश शक्ति राष्ट्रले नेपाललाई फौजी प्ले ग्राउण्ड बनाउने, चीनको बिरुद्धमा परिलक्षित गर्ने, चीनलाई घेराबन्दी गर्ने र तीब्बत टुक्राउने योजना अनुरुप भइरहेको पनि उनले बताए ।  

नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्रीले आवेग र हठातमा संसद विघटन गरेको आरोप लगाए । देशलाई बचाउनका लागि भएपनि संसद पुर्नस्थापना हुनुपर्ने भन्दै उनले भने, ‘संविधानको रक्षाका लागि, जनयुद्ध र जनआन्दोलनका रक्षा गर्नका लागिपनि संसद पुर्नस्थापना हुनुपर्छ ।’ ओलीले आफ्नो स्वार्थ पूर्ति गर्न र भ्रष्टाचारलाई संस्थागत गर्न हुँदाखाँदाको पार्टीलाई टुटफुट र संसद विघटन गरेको बताए ।

नेता पौडेलले सर्वोच्च अदालतले संसद पुर्नस्थापना गर्नेमा आफूहरु आशावादी रहेको बताए । ‘अदालतले जनता, न्याय, कानून र कानूनी राज्यको पक्षमा निर्णय गर्नेमा हामी विश्वस्त छौं,’ उनले भने । उनले पार्टीको चुनाव चिह्नबारे निर्णय गर्दा निर्वाचन आयोगले नक्कली हस्ताक्षरलाई मान्यता नदिने विश्वास व्यक्त गरे । ओली पक्षले एकहजार भन्दा बढी सदस्य थपेको र थपिएका सदस्यको नक्कली हस्ताक्षर गरेको भन्दै उनले त्यसलाई मान्यता नदिई बहुमत सदस्य रहेको प्रचण्ड–माधव समूहलाई संस्थापन मानेर सूर्य चुनाव चिह्नपनि पनि आफूहरुकै समूहलाई दिने विश्वास उनको छ ।

पत्रकार सम्मेलनमा नेकपा गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डेले प्रदेश कमिटीले गरेका निर्णयहरु सार्वजनिक गरेका थिए । प्रदेश कमिटीले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमबिरुद्धका विरोधका कार्यक्रमहरु सार्वजनिक गरेको छ । जस अन्तर्गत मंगलबार प्रदेशका सबै जिल्लामा विरोध प्रदर्शन गर्ने जनाइएको छ ।

प्रकाशित: १३ पुस २०७७ ०९:१० सोमबार

संसद विघटन