राजनीति

‘तपाईंहरू जहाँ-जहाँ नहुनुपर्ने ती सबै ठाउँमा हुनुहुन्छ, त्यही भएर त आज सडकमा आइपुग्नुभएको छ’

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सत्तारूढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाललाई गलत राजनीति गरेका कारण आज सडकमा आइपुगेको टिप्पणी गरेका छन्।  

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भंग गराएपछि आन्दोलनमा उत्रिएको प्रचण्ड-नेपाल समूहले गत बिहीबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको थियो। त्यस क्रममा अध्यक्ष प्रचण्ड र नेपालले ‘हामी यहाँ छौं’ लेखिएको पर्चा भिरेका थिए।  

त्यही तस्बिरलाई सेयर गर्दै विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले उनीहरूलाई व्यंग्य गरेका हुन्।  

‘तपाईंहरू जहाँ जहाँ नहुनुपर्ने ती सबै ठाउँमा हुनुहुन्छ। अदालत, कर्मचारीतन्त्र, प्रहरी, शिक्षा स्वास्थ्य, उद्योग व्यापार सबै ठाउँमा। परिणामस्वरूप आज सडकमा आइपुग्नु भएको छ,’ मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जुन दिनदेखि राजनीति गर्न नपर्ने ठाउँमा राजनीति बन्द गर्नुहुन्छ, भागबन्डा रोक्नुहुन्छ, सबै संस्थाहरू ठीक ठाउँमा आउनेछ। अन्यथा अरूलाई खान पालेको बाघले तपाईंहरूलाई पनि खानेछ।’ 

प्रकाशित: ११ पुस २०७७ ०९:३३ शनिबार

रवीन्द्र मिश्र प्रचण्ड-नेपाल