राजनीति

डोरमणी पौडेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता, मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई अघि सारियो

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरूद्ध प्रदेशसभाका ४५ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेको पाइएको छ। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षका ४५ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्।

एक सय १० जना सांसद रहेको प्रदेशसभामा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ८० जना सांसद छन्। जसमध्ये नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षमा ४६ जना र प्रधानमन्त्री केपी ओलीतर्फ ३४ जना सांसद रहेका छन्।

त्यस्तै नेपाली कांग्रेसका २२, विवेकशील साझाका ३, नेमकिपा र राप्रपाका २–२ र स्वतन्त्रका १ जना सांसद छन्।  

अविश्वास पत्रमा मुख्यमन्त्री पदका लागि प्रदेश सांसद अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको छ।  

यस्तै पत्रमा पत्रमा नेपालको संविधानको धारा १८८ को उपधारा ४ तथा नेकपा बागमती प्रदेशसभा दलको विधान २०७५ को धारा २८ बमोजिम अविश्वास प्रस्ताव दर्ता गरिएको उल्लेख छ। उनीहरुले नेपालको संविधानको धारा १८३ को उपधारा ३ अनुसार तत्काल प्रदेशसभाको बैठक बोलाउन पनि माग गरेका छन्।

प्रकाशित: १० पुस २०७७ ०७:१३ शुक्रबार

डोरमणी पौडेल अविश्वास प्रस्ताव दर्ता