राजनीति

प्रतिनिधिसभा विघटनको विरोध गर्दै माइतीघरमा बसे प्रचण्ड-नेपाल

प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्षले आजदेखि चरणवद्ध आन्दोलन सुरु गरेको छ। आन्दोलनको पहिलो दिन आज उनीहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरिरहेका छन्।  

‘हामी यहाँ छौं’ लेखिएका प्लेकार्डसहित प्रचण्ड, नेपाल, झलनाथ खनालसहितका नेता–कार्यकर्ताहरुको सहभागिता रहेको छ। आन्दोलनकारीहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै चर्का नाराबाजी समेत गरेका छन्।

प्रचण्ड–नेपाल पक्षको आज माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने पूर्वनिर्धारित कार्यक्रम रहेको छ।

उनीहरुले आजै दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन्।  

बिहीबार बसेको प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले आजबाट दैनिक रूपमा काठमाडौंसहित देशैभरका शहरमा प्रर्दशन गर्ने निर्णय गरेको थियो। उनीहरुले पुस १४ गते देशव्यापी आन्दोलन गर्ने तयारी गरेका छन्।

प्रकाशित: १० पुस २०७७ ०६:१० शुक्रबार

प्रचण्ड-नेपाल पक्ष प्रतिनिधिसभा विघटन