राजनीति

ओली समूहको भेलामा बादलले भने : प्रचण्ड–नेपाल पक्षलाई चुनावमा गएर परास्त गर्नुपर्छ

गृहमन्त्री रामबहादुर थापा बादलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट एउटा गुट अलग भएको बताएका छन्। आज नेकपाका अध्यक्ष केपी ओली पक्षको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै बादलले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षलाई ‘फुटवादी, अवसरवादी र प्रतिगमनकारीहरू’को संज्ञा दिएका छन्।

उनले प्रचण्ड–नेपाल पक्षलाई चुनावमा गएर परास्त गर्नुपर्ने पनि बताए। ‘हामी प्रतिगमनकारी र अवसरवादीहरूलाई आँधीबेहरी र तुफान बनेर पराजित गर्दै देशको सही ढंगले नेतृत्व गर्नेछौं’ उनले भने।

बादलले प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको जिकिर समेत गरेका छन्। ‘उहाँहरूको ध्यान क्रान्तिका उपलब्धिहरूलाई उल्ट्याउन केन्द्रित छ,’ उनले भने,‘उहाँहरू दुश्मनको जालमा पर्नुभएको छ।’

उनले ओलीजस्तो राष्ट्रवादी  नेतृत्वले चालेको कदमलाई  पार्टी दृढतापूर्वक अघि बढाउने समेत बताए।

 

प्रकाशित: ९ पुस २०७७ १२:१५ बिहीबार

बादल ओली समूह