राजनीति

भारतीय पत्रिकाले नेकपा विभाजन हुँदा चीनलाई चित्त दुखेको छ भनेपछि चिनियाँ पत्रिकाले गर्‍यो खण्डन

भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले नेपालको राजनीतिमा चीनलाई जोड्न खोजिएको भन्दै त्यहाँको सरकारी पत्रिका ग्लोबल टाइम्सले खण्डन गरेको छ। 

भारतबाट प्रकाशन हुने अंग्रेजी अखबार हिन्दुस्तान टाइम्सले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गराउँदा तथा सत्तारूढ दल नेकपामा विभाजन हुँदा चीनको पनि चित्त दुखेको भन्ने समाचार छापेपछि ग्लोबल टाइम्सले खण्डन गरेको हो।  

हिन्दुस्तान टाइम्सले नेकपा विवाद मिलाउन चिनियाँ राजदूत होउ यान्छीले भूमिका खेलेको उल्लेख गर्दै अहिले भएको घटनाक्रमले चीनलाई चिन्ता परेको भनी समाचार लेखेको छ। 

त्यसको खण्डन गर्दै चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले हिन्दुस्तान टाइम्सले चीन र दक्षिणपूर्वी एसियाली मुलुकबीच फाटो ल्याउन खोजेको आरोप लगाएको हो। 

ग्लोबल टाइम्सले भनेको छ– ‘चीनले नेपाल मात्र होइन, अन्य कुनै पनि देशको घरेलु राजनीतिमा हस्तक्षेप गर्दैन। यद्यपि नेपालमा स्थिर सरकार होस् भन्ने चाहना चीनको छ, जसले सबैलाई फाइदा पुर्‍याउँछ।’

चीनले नेपालको कुनै पनि सत्तारूढ पार्टीलाई सहयोग वा दबाब दिने काम नगरेको उल्लेख गर्दै चिनियाँ पत्रिकाले अगाडि लेखेको छ- ‘बरु त्यसो गर्ने भारत नै हो, जसले नाकाबन्दीलगायत गतिविधि गरेर नेपाललाई दबाब दिन्छ। चीनले खेलेको संयोजनकारी भूमिकालाई नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप भन्न मिल्दैन।’ 

भारतीय पक्षका आरोप आधारहीन भएको उल्लेख गर्दै ग्लोबल टाइम्सले भारतीय सञ्चारमाध्यमले चीन–नेपालबीच खेल खेल्न खोजिरहने आरोप पनि लगाएको छ। उसले भनेको छ, ‘तर यसले खासै असर पार्न सक्दैन।’

प्रकाशित: ७ पुस २०७७ ०९:३१ मंगलबार

चीन-भारत चीन-नेपाल