राजनीति

पूर्वमाओवादीबाट ओली समूहको बैठकमा को को गए ?

प्रधानमन्त्री केपी शर्मा ओली समूहका केन्द्रीय सदस्यहरुको बैठकमा पूर्वमाओवादी समूहका तीन जना नेताहरु सहभागि भएका छन्। नेकपाका स्थायी कमिटी सदस्य रहेका टोपबहादुर रायमाझी, उद्योगमन्त्री समेत रहेका लेखराज भट्ट र मणी थापा ओली समूहको बैठकमा गएका हुन्।

केन्द्रीय समिति अघि नेताहरुलाई आफ्नो पक्षमा तान्न प्रचण्ड-माधव समूह र ओली समूहले दौडधुप गरेका थिए।  

सोमबारसम्म कुनै पक्षा नखुलेका हरिबोल गजुरेलले भने प्रचण्डलाई नै समर्थन गर्ने जनाएका छन्।

सुदुरपश्चिम प्रदेशमा प्रचण्डको भरोसा रहेका भट्ट ओली तिर पहिलेनै खुलेका थिए। सुपमा प्रभावशाली रहेका भीम रावल त्यही समूहमा रहेपछि आफ्नो प्रभाव नहुने बुझेर उनी ओली तिर लागेको नेकपा नेताहरु बताउँछन्। भट्ट प्रचण्डका कठिन दिनमा उनलाई साथ दिनेमा एक थिए भट्ट।

माओवादीमा हुँदा २५ वर्षसम्म डा. बाबुराम भट्टराईको पक्षमा उभिएका टोपबहादुर रायमाझी बाबुरामले माओवादी छोडेपछि दाहालको पक्षमा थिए। माओवादी र एमाले एकीकरणपछि बनेको नेकपामा पनि प्रचण्डको पक्षमा रहेका रायमाझी अहिले ओली समूहमा लागेका हुन्। पटक पटक मन्त्री बनेका उनले प्रचण्डले पुरानो तुस साँधेर पार्टी र सत्तामा भूमिका नदिएको आफु निकटहरुलाई बताउँदै आएका थिए। यता लुम्बिनी प्रदेशमा महासचिव विष्णु पौडेलको प्रभावका कारण पनि त्यहाँको समिकरण र भावी निर्वाचनलाई नियाल्दै उनी ओली समूहमा लागेको उनलाई चिन्नेहरु बताउँछन्।

मणी थापा माओवादीको बहुचर्चित चुनवाङ बैठकसम्म डा. भट्टराईको पक्षमा थिए। उक्त बैठकमा डा. भट्टराई र प्रचण्ड मिले पछि उनले पार्टी परित्याग गरेका थिए। माओवादी छोडेर नयाँ पार्टी बनाएका उनी पछि माओवादीमा समाहित भएका थिए।

गृहमन्त्री रामबहादुर थापा र उपाध्यक्ष बामदेव गौतम भने बैठकमा गएका छैनन्। थापा अझै प्रचण्ड पक्ष वा ओली पक्षमा भन्ने खुलिसकेका छैनन्। यस अघि तटस्थ रहँदै आएका हरिबोल गजुरेल प्रचण्ड पक्षमा लागेका छन्।

 

प्रकाशित: ७ पुस २०७७ ०५:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App