राजनीति

ओलीको समर्थनमा पोखरामा प्रदर्शन

संसद विघटन गरेको समर्थनमा सोमबार पोखरामा ओली पक्षले गरेको प्रदर्शन । तस्बिर ः उमेश पुन÷नागरिक

पोखरामा संसद विघटनको पक्षमा पनि प्रदर्शन भएको छ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा युवा तथा विद्यार्थीहरुले चिप्लेढुंगामा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएका उनीहरुले केपी ओली जिन्दावाद, प्रचण्ड–माधव नेपाल मुर्दावाद, लोकतन्त्र जिन्दावाद, भ्रष्टाचारी मुर्दावादलगायतका नारा लगाएका थिए ।

प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै युवा संघका केन्द्रीय उपाध्यक्ष माधव बास्तोलाले संसद विघटन रहरले नभई बाध्यताले गर्नुपरेको बताए । आफ्नै पार्टीका नेताहरुले काम गर्न नदिएपछि ताजा जनमतका लागि निर्वाचन घोषणा भएको भन्दै उनले भने, ‘हामी रहरले होईन, बाध्यताले संसद विघटनको पक्षमा प्रदर्शन गर्दैछौं । संसद विघटन गर्नु रहर नभई बाध्यता हो ।’ उनले पुष्पकमल दाहाल (प्रचण्ड) र माधव नेपाल आफ्नो भ्रष्टाचार लुकाउनका लागि ओलीबिरुद्ध खनिएको बताए । ‘प्रचण्ड क्यान्टोनमेनको भ्रष्टाचार खोतलिने डरले र माधव नेपाल ललिता निवासमा भएको भ्रष्टाचार खोतलिने डरले ओली सरकार ढाल्ने प्रयासमा लागेका हुन्,’ उनले भने । प्रचण्डसँग माधव नेपाल पनि सती गएको आरोप लगाउँदै उनले भने,‘अब दुबैजना जेल जाने दिन कुरेर बसे हुन्छ ।’

ओली पक्षीय विद्यार्थी नेता विवेक देवकोटाले संसद विघटनको स्वागत गर्ने मन नभएपनि लोकतन्त्रको रक्षाका लागि संसद विघटन भएकाले त्यसको स्वागतका लागि प्रदर्शन गरिएको बताए । ‘पाँच वर्षमा हुने निर्वाचन दुई वर्षमै गर्दा गणतन्त्र र लोकतन्त्र बाँच्छ भने त्यसो गर्न हामी तयार छौं भनेर मध्यावधी निर्वाचन घोषणा गरिएको हो,’ उनले भने । उनले प्रचण्ड–माधव समूहलाई चुनाव जितेर देखाउन चुनौति दिए । उनले ओलीको पुत्ला जलाउनेहरु लोकतन्त्र र गणतन्त्र बिरोधी भएको आरोप लगाए ।

प्रकाशित: ६ पुस २०७७ ११:१४ सोमबार

संसद विघटन