राजनीति

राष्ट्रपतिलाई कांग्रेसको अपिल : ओलीको असंवैधानिक सिफारिस अस्वीकार गर्नुहोस्

फाइल तस्बिर : कांग्रेसका प्रवक्ता विश्वप्रका शर्मा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको सिफारिसलाई अधिनायक आकांक्षाको अन्तिम प्रयत्नको संज्ञा दिँदै त्यसलाई असफल पारेरै छाड्ने चेतावनी दिएको छ।  

प्रधानमन्त्री ओलीले आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर प्रतिनिधिसभा विघटनको सिफारिस गरेलगत्तै विज्ञप्ति जारी गरेर कांग्रेसले यो संविधानको अक्षर, मर्म र भावनाविपरीत रहेको ठहर गरेको हो। साथै उसले राजनीतिक रूपमा त्यसको गम्भीर ढंगले प्रतिवाद गर्ने चेतावनी दिएको छ।  

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न गर्नुभएको सिफारिसलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ। विघटनको अस्त्रलाई अधिनायक आकांक्षाको अन्तिम प्रयत्नका रूपमा हामीले लिएका छौं र उद्घोष गर्दछौं यो प्रयत्नलाई असफल तुल्याइने छ।’

साथै कांग्रेसले असंवैधानिक र आवेगपूर्ण सिफारिस अस्वीकार गरेर संविधानप्रतिको आफ्नो अभिभावकीय कर्तव्य निर्वाह गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई अपिल पनि गरेको छ।  

विज्ञप्तिमा अगािड भनिएको छ- ‘नेपाली कांग्रेस संविधान र लोकतन्त्र रक्षाका लागि एकजुट हुन पार्टीका साथीहरू, सबै राजनीतिक दल, संघसंस्था र समस्त लोकतन्त्रवादी नेपाली दिदीबहिनी, दाजुभाइमा हार्दिक अपिल गर्दछ।’

यसै विषयमा छलफल गर्न आजै दिउँसो १ बजे उपत्यकामा उपलब्ध पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक पनि बोलाइएको कांग्रेसले जनाएको छ। 

प्रकाशित: ५ पुस २०७७ ०७:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App