राजनीति

प्रधानमन्त्रीको कदम संवैधानिक 'कू': डा. शेखर कोइराला

नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीले संवैधानिक 'कू' गरेको बताएका छन्। नेपाल प्रेस युनियन मोरङले आइतबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा कोइरालाले संविधान विपरित प्रधानमन्त्रीले चालेको कदम संवैधानिक 'कू' भएको बताएका हुन्। 

कोइरालाले प्रधानमन्त्रीले गरेको गैर संवैधानिक सिफारिसलाई राष्ट्रपतिले रोक्नुपर्ने धारणा राखे। कोइरालाले भने‘संविधानमा प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गर्ने व्यवस्था कतै पनि नभएकाले प्रधानमन्त्रीले गरेको सिफारिसका विषयमा राष्ट्रिपतिले विज्ञहरूसँग सल्लाह गरेर आवश्यक प्रकृया अघि बढाउनु उपयुक्त हुन्छ।’

प्रधानमन्त्रीको सिफारिस राष्ट्रतिले स्वीकृत गरे काँग्रेस संवैधानिक 'कू' को विरुद्ध सडक संघर्षमा उत्रने डा कोइरालाले स्पष्ट पारे। उनले भने‘प्रधानमन्त्रीले गरेको संवैधानिक 'कू' विरुद्ध कांग्रेस सडक संघर्षमा उत्रन्छ।’ राष्ट्रपतिले कुनै एउटा पार्टीको पार्टी भित्रको एउटा मात्रै गुटलाई संरक्षण गर्ने प्रबृत्तीले सम्मानित संस्थाको मर्यादामा आँच आइरहेको डा कोइरालाले बताए। 

संविधान विपरित संसद विघटन गरेर प्रधानमन्त्री सर्वसत्ताबाद हुँदै अधिनायकवाद तर्फ अघिबढेको कोइरालाले स्पष्ट पारे। कोइरालाले प्रधानमन्त्रीको असंवैधानिक कदमले प्रतिगमनलाई फाइदा पुगेको पनि बताए।

प्रकाशित: ५ पुस २०७७ ०७:१८ आइतबार

प्रधानमन्त्रीको कदम संवैधानिक 'कू