राजनीति

८३ सांसदले राष्ट्रपतिलाई लेखेको पत्र दर्ता नगर्नु स्वेच्छाचारी चरित्र : भीम रावल (पत्रसहित)

सत्तारूढ नेकपा स्थायी कमिटी सदस्य भीम रावलले आफूहरूले संसद‍् बैठक बोलाउन माग राखेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई लेखेको पत्र राष्ट्रपतिको कार्यालयले दर्ता नगर्नु  ‘स्वेच्छाचारी चरित्रकै द्दोतक’ भएको टिप्पणी गरेका छन्।  

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मंगलबार राष्ट्रपति भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि छलफल आवश्यक भएको भन्दै संसद् बैठक बोलाउन माग राखेर नेकपाकै ८३ सांसदको हस्ताक्षरसहितको पत्र लिएर बुधबार नेता रावल र पम्फा भुसाल राष्ट्रपति कार्यालय पुगेका थिए। तर आफूहरूलाई ६ घण्टा कुृराएर पत्र दर्ता नगरेको रावलले बताएका छन्। 

‘संविधानप्रदत्त अधिकार अनुरूपको आवेदन दर्ता नगर्नु स्वेच्छाचारी चरित्रकै द्दोतक हो,’ नेता रावलले भनेका छन्, ‘प्रधानमन्त्रीले अध्यादेश फिर्ता  लिने र अरू विषयमा पुस ५ गते स्थायी कमिटी बैठकमा छलफल हुने कुरा अध्यक्ष प्रचण्डबाट आएपछि शीतलनिवासबाट बाहिरियौं। विधि, पद्धति, जनता र देशहितका लागि पाइला बढिरहनेछन्।’

पत्रमा भनिएको छ-  ‘जनताका माग आकांक्षा र भावना मुखरित र सम्बोधन गर्ने प्रतिनिधि सभाको नियमित बैठक बोलाउनुपर्ने समय भइसकेको अवस्थामा सम्माननीय प्रधानमन्त्रीले हठात् संवैधानिक परिषद् (काम कर्तव्य र अधिकार) ऐन २०६६ लाई संशोधन गर्न मन्त्रिपरिषदबाट अध्यादेश सिफारिस गर्नु भई सो अध्यादेश जारी भएकाले यस्तो संवेदनशील विषयमा संसदमा छलफल गर्नु अपरिहार्य भएको छ।’

यस्तो छ पत्र-

प्रकाशित: २ पुस २०७७ ०७:३९ बिहीबार

अध्यादेश भीम रावल राष्ट्रपति