राजनीति

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न सक्ने

बहुमत सदस्यको उपस्थतिमा बैठक बस्न सक्ने गरी सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश ल्याएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले उक्त अध्यादेश आज नै जारी गरेकी हुन्।

अध्यादेश अनुसार परिषदका अध्यक्षसमेत रहने प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष र प्रधानन्यायाधी उपस्थित भएमा बैठकको कोरम पुग्ने छ। यस अघि प्रधानमन्त्रीसहित ५ जना उस्थित भएमा मात्र कोरम पुग्ने व्यवस्था थियो। आज बिहान बोलाइएको बैठकमा सभामुख अग्नि सापकोटा नभएपछि बैठक साँझ ५ बजेलाई सारिएको थियो। लामो समयदेखि संवैधानिक परिषदको बैठक बस्न सकेको छैन।

राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा अध्यादेश जारी गरेकी हुन्।

प्रधानमन्त्रीको अध्यक्षतामा हुने संवैधानिक परिषदमा प्रतिपक्षी दलका नेता, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख र प्रधानन्यायाधीश सदस्य हुन्छन्।

प्रधानमन्त्रीले पार्टीमा सल्लाह नगरी अध्यादेश जारी गरेपछि नेकपा भित्रको विवाद थप बढ्ने देखिएको छ। अध्यायदेश जारी भएसँगै नेकपाका नेताहरु छलफलमा जुटेको स्रोतले जनाएको छ।

 

प्रकाशित: ३० मंसिर २०७७ ०९:२० मंगलबार

अध्यादेश संवैधानिक परिषद राष्ट्रपति