राजनीति

गोरखामा सरकारविरुद्ध कांग्रेसको प्रदर्शन

सरकार विरोध नेपाली कांग्रेस गोरखाका कार्यकर्ताले सदरमुकाममा विरोध प्रर्दशन गरेका छन् । गाउँगाउँबाट आएका कार्यकर्ता, जिल्ला एवं केन्द्रियस्तरका नेताले विरोध कार्यक्रममा सरकारको चर्को आलोचना गरे ।  

विरोध  सभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठले सरकार निरङकुश भएकाले तत्काल हटाउनुपर्ने धारणा राखे । ‘कार्यपालिका, न्यापालिका सबै संवैधानिक निकाय प्रधानमन्त्रीले आफ्नो मातहत लिएका छन’ केन्द्रीय सदस्य श्रेष्ठले भने,‘आफ्ना मान्छेलाई जोगाउने, सरकारको गलत कामको टिकाटिप्पणी गर्नेलाई सिध्याउने गरिएको छ ।’ भ्रष्टाचार   गर्ने आफ्ना मान्छेलाई जोगाउन संवैधानिक निकायलाई प्रधानमन्त्रीले भर्ती केन्द्र बनाएको उनले आरोप लगाए ।  

अर्का केन्द्रीय सदस्य टिएन योगीले सरकारले हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार  जस्ता जघन्य अपराधको न्यूनिकरण गर्न नसकेको आरोप लगाए । ‘जनताले चाहेको जस्तो अधिकार दिन सरकार असफल भयो’ उनले भने ‘सरकार सँग जनता आक्रोशित छन्, नागरिकलाई समृद्धि दिन सरकारले सकेन ।’

कार्यक्रममा कांग्रेस जिल्ला सभापति हरिबहादुर घलेले सरकारविरुद्ध  लड्न र नागरिकको आश्यकताका लागि कांग्रेस भित्र सबै एक हुनुपर्ने धारणा राखे । तिब्बतसँग सिमाना जोडिएको छेकम्पार, सामागाउँदेखि जिल्लाका सबै ठाउँमा कार्यकर्ता सहभागी भएको जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले बताए । कांग्रेस पार्टी कार्यालय तिनधारेबाट निस्किएको विरोध ¥याली बसपार्क, शक्तिचोक, हुँदै हरमटारीमा पुगेर कोण सभामा परिणत भएको थियो । 

प्रकाशित: २९ मंसिर २०७७ १०:०५ सोमबार

कांग्रेस