राजनीति

प्रधानमन्त्रीले ‘म भ्रष्टाचार गर्दिनँ...’ भन्दा त ‘हाम्रा बाउ घ्याम्पामा लुकेका छैनन्’ भनेजस्तो सुनिँदोरै’छः डा.भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ’ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइलाई व्यंग्य गरेका छन्।  

सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्री डा.भट्टराईले प्रधानमन्त्री ओलीलाई प्रतिबद्धताअनुसार भ्रष्टाचार काण्ड छानबिन गर्न चुनौतीसमेत दिएका छन्।  

‘प्रम केपी शर्मा ओलीले ‘म भ्रष्टाचार गर्दिनँ, अरूलाई गर्न दिन्नँ’ भन्दा सबैले सुनेको कथामा बालकले पुलिसलाई ‘हाम्रा बाउ घ्याम्पामा लुकेका छैनन्’ भनेजस्तो सुनिँदो रै’छ,’  डा. भट्टराईले ट्विटरमा लेखेका छन्, ‘साँच्चै इमान्दार हो भने आजै यति, ओम्नी, सेक्युरिटी प्रिन्टिङ, वाइडबडी, बूढीगण्डकीलगायत सबै काण्डको निष्पक्ष छानबिन गरौं न त !’ 

भ्रष्टाचारविरुद्धको दिवस (डिसेम्बर ९) का अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले ‘म भ्रष्टाचार गर्दिनँ, अरूलाई गर्न दिन्नँ’ भन्ने भनाइ दोहोर्‍याएका थिए। 

भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवसका दिन प्रधानमन्त्रीले जारी गरेकाे भिडियाे सन्देश 

प्रकाशित: २५ मंसिर २०७७ ०७:२३ बिहीबार

प्रधानमन्त्री भ्रष्टाचार डा.भट्टराई