राजनीति

पौडेल तीन घण्टा प्रहरीको नियन्त्रणमा

तनहुँमा बुधबार पुल उद्घाटन गर्न जाँदा प्रहरीले नियन्त्रण गर्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल । तस्बिर: श्रीहरि पौडेल/नागरिक

विकास निर्माणमा कसले ‘जस’ लिने ? धेरैतिर यसलाई विवादको विषय बनाइन्छ । यतिबेला तनहुँमा यो विवाद चर्कंदो छ । विवादको चुरो हो–बनिसकेका दुईवटा मोटरेबल पुल उद्घाटन गरेर आफ्नो पहलमा काम भएको देखाउन कांग्रेस र नेकपाबीच हानथाप चल्नु । त्यही हानथापले गर्दा बुधबार दिनभर तनहुँको मुकाम दमौली तनावग्रस्त बन्यो । हानथाप चर्किदै जाँदा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई नै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

तनहुँको ब्यास नगरपालिका–१३ र ऋषिङ गाउँपालिका–३ जोड्नेगरि सोंढेमा सेतीनदि माथि बनेको पक्की मोटरेबल पुल पौडेलले मंगलबार उद्घाटन गरेपछि विवाद सुरु भएको थियो । त्यो विवाद चर्कंदै गइरहेको बेला बुधबार फेरि सदरमुकामभित्रैकै अर्काे पुल पौडेलले नै उद्घाटन गर्न खोज्दा विवादले झनै उग्ररूप लिएको थियो । पौडेलले मंगलबार सोंढेमाथि बनेको एकसय मिटर लामो पक्कि मोटरेबल पुल उद्घाटन गरेका थिए । तनहुँका दुईवटा निर्वाचन क्षेत्रलाई जोड्नेगरि १० करोड रूपैयाँ लागतमा त्यो पुल बनेको थियो ।  

त्यस्तै बुधबार ब्यास नगरपालिका–१ लाई वडा नम्बर १० र १० सँग जोड्नेगरी तालघरेको बुल्दीपुल उद्घाटन गर्ने पौडेलको योजना असफल बनाउन नेकपा दिनभर कस्सिएर लागेको थियो । २ करोड ५४ लाख रूपैयाँमा बुल्दीको पुल बनेको थियो । कांग्रेसले पौडेलबाट पुल उद्घाटन गराउन चाहेको र नेकपाले भने आफ्नै दलका सांसद तथा मन्त्रीबाट ती पुल उद्घाटन गराउन खोज्दा दुवै दलबीच विवाद चर्केको थियो । विवाद चर्कदै जाँदा झडपको स्थिति आउने सम्भावना बढेको भन्दै स्थानीय प्रशासनले सदरमुकामका केही क्षेत्रमा दिनभर निषेधाज्ञा नै लगाएको थियो ।  

पौडेलले पुल उद्घाटन गर्न थालेको विषयलाई लिएर नेकपाले सुरुदेखि नै विरोध जनाइरहेको थियो । आफ्ना दलका नेता तथा मन्त्री ल्याएर उद्घाटन गराउने योजनामा रहँदा पौडेलले उद्घाटन गरिदिएपछि नेकपा रुष्ट बनेको थियो । दलका नेताहरू भने पुल निर्माणका लागि आफ्नो दलले पहल गरेकोले उद्घाटनको अधिकार पनि आफ्नै दललाई रहेको बताउँछन् । एकअर्का दलको अधिकार क्षेत्र हनन हुनेगरी पूर्वाधार उद्घाटन गरिएको उनीहरूको भनाइ छ ।

कांग्रेस तनहँँुका सभापति बैकुण्ठ न्यौपाने भन्छन्, ‘वरिष्ठ नेता पौडेलको पहलमा ती पुल बनेका हुन् । सोंढेको पुल त पौडेलले नै शिलान्यास गरेका थिए । पौडेलले पुल शिलान्यास मात्र गरेनन् कि त्यो पुललाई पूर्णता दिन निकै नै मेहनत पनि गरेका थिए । त्यही भएर उद्घाटनमा पनि पौडेलको चाँसो हुनु स्वभाविक हो ।’ नेकपाले आफ्ना सांसदले पुल उद्घाटन गर्न पाउनुपर्छ भनेर बखेडा निकालेको न्यौपानेले बताए । ब्यास नगरपालिकाका मेयरसमेत रहेका न्यौपानेले कानुनको आडमा सर्वसत्तावाद लाद्न खोजिएको बताए ।

‘निर्वाचन जितेको मान्छेले मात्र पुल उद्घाटन गर्न पाउनुपर्छ भन्ने नेकपाको नमिल्दो तर्क छ,’ उनले भने, ‘हामीले कसैको अधिकार क्षेत्र हनन गरेका छैनौ ।’ पौडेलको पहलमा यी दुवै पुल बनेकोले उद्घाटनको अधिकार पनि पौडेललाई रहेको उनले बताए । न्यौपानेका अनुसार पौडेलको विरोध गर्नेमा नेकपा भित्रकै पनि माधव नेपाल टोली भने सहभागि थिएन । ‘हिजो ग्रामिण क्षेत्रमा पुगेर उद्घाटन गर्न खोज्दा नेकपाले विरोध गर्न सकेन । आज सहज ठाउँ पाउँदा विरोधका शैली देखाएको छ,’ उनले भने ।  

नेकपा ब्यास नगर कमिटिका अध्यक्ष श्रीराम कार्की भने संघीय सरकारले नै पुलका लागि बजेट दिएकोले अहिलेका सांसद वा मन्त्रीलाई मात्र पुल उद्घाटनको अधिकार रहेको बताउँछन् । ‘शिलान्यास पौडेलले गरेका हुन, त्यो साँचो हो । तर, अहिले उद्घाटन गरेर गर्नै नहुने काम पौडेलले गरेका छन,’ कार्कीले भने, ‘निर्वाचन जितेका सांसदलाई जनतामाझ जाने आधार भनेको विवास निर्माण हुन् । तर त्यो आधार कांग्रेसले खोस्न खोज्दा यो विवाद निस्केको हो ।’ कांग्रेसले अनावश्यक रूपमा पुल निर्माणमा जस लिन खोजेको उनले बताए ।  

‘विकासका पूर्वाधार सबैका साझा हुन्छन । तर, पुर्वाधार बनेका ठाउँबाट निर्वाचन जितेका सांसदलाई पनि जनताबीच काम गरेको देखाउने आधार रहन्थ्यो । त्यो चाहना निर्वाचित भएका सांसदको पनि हो,’ कार्कीले भने, ‘तर कांग्रेसले अनावश्यक जस लिन खोजेको छ ।’ विकास निर्माणमा सिधा बाटो जानुपर्नेमा चोरबाटो अपनाउनु हुँदैन भन्ने नेकपाको भनाइ रहेको उनले बताए । ‘हिजो गरेका कामको जस अब लिनु भएन । मैले सपना देखेको भनेर हुँदैन,’ कार्कीले भने, ‘आज जो सरकारमा छ, उसैलाई अधिकार छाड्नुपर्छ ।’

पुल निर्माण सकिए पनि सडक डिभिजन कार्यालयले अहिले उद्घाटन नगर्ने भनेको र स्थानीय प्रशासनले पनि अहिले उद्घाटन नगर्न भनिरहँदा सत्तासीन दलसँग सहमति नगरि नगरपालिका र गाउँपालिका मिलेर पौडेललाई उद्घाटन गर्न लगाइएको कार्कीको भनाइ छ ।  

प्रशासनको दुरुपयोग: पौडेल  
वरिष्ठ नेता पौडेललाई बु्धबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएर लछारपछार गरेको छ । बुल्दी पुल उद्घाटन गर्न भनेर पुगेको पौडेललाई प्रहरीले उठाएर लगेको थियो । प्रहरीले डण्डाले आफ्ूलाई छातीमा चोट लागेको पौडेलले बताए । ‘मलाई सर्वदलीय सहमतिका आधारमा पुल उद्घाटन गर्न बोलाइएको थियो । त्यही अनुसार म पुल उद्घाटन गर्न दमौली आएको थिए,’ पौडेलले नागरिकसँग भने, ‘तर, गुण्डा परिचालन गर्दै सरकारले प्रशासनको दुरूपयोग गरिएको छ ।’ दुवै पुल निर्माणमा आफ्ले अथक प्रयास गरेको उनले बताए । ‘मेरो आफ्नै प्रयासले यी दुवै पुल बनेका हुन्,’ उनले भने, ‘पुल बनाउन मैले गरेको प्रयासकै कदर गर्दै मलाई उद्घाटनका लागि बोलाइएको हो । तर, अहिले ममाथि आक्रमण भयो ।’

नेकपाका कार्यकर्ता सहितको उपभोक्ता समिति बनाएर सबैको सहमतिमा उद्घाटन गर्न आफूलाई बोलाइएको पौडेलले बताए । ‘पुल निर्माणका लागि बनेको उपभोक्ता समितिमा कम्युनिस्टका कार्यकर्ता पनि छन् । सबैको सहमतिमा मलाई बोलाएर आक्रमण गरिएको छ,’ उनले भने, ‘प्रशासनको दुरूपयोग गरिएको छ ।’ 

प्रकाशित: १८ मंसिर २०७७ ०१:३४ बिहीबार

मोटरेबल पुल उद्घाटन वरिष्ठ नेता रामचन्द्र पौडेल