राजनीति

किन भइरहेछ राजावादी प्रदर्शन ?

काठमाडौंमा सोमबार राजवादीले गरेको प्रदर्शन । फाइल तस्बिर: नागरिक

प्रमुख राजनीतिक दलहरू आन्तरिक विवादमा रुमलिएका बेला लोकतान्त्रिक गणतन्त्रविरुद्ध सडकमा प्रदर्शन हुन थालेको छ । कोरोना भाइरसको महामारीमा पनि सरकार र राजनीतिक दलको उपस्थिति नदेखिएको भन्दै आम जनता रुष्ट बनेका बेला काठमाडौंसहित देशका विभिन्न ठाउँमा राजसंस्थाको पुनःस्थापना र हिन्दू राष्ट्रको पक्षमा प्रदर्शन भएको हो ।  

करिब एक महिनादेखि वर्तमान व्यवस्थाविरुद्ध देशव्यापी रूपमा शृंखलाबद्ध प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले राजतन्त्र पुनःस्थापना र हिन्दू राष्ट्रको पक्षमा नारा लगाउने गरेका छन् । विभिन्न ठाउँमा विभिन्न नामबाट प्रदर्शन हुने गरेको छ । तर प्रदर्शनको नारा र उद्देश्य एउटै छ । राजावादीले सोमबार काठमाडौंमै प्रदर्शन गरे । उनीहरूले सोमबार दिउँसो काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शन गरेका थिए । काठमाडौंको प्रदर्शन राष्ट्रिय शक्ति नेपालको नामबाट भएको थियो । उक्त संस्थाका अध्यक्ष केशरबहादुर विष्ट हुन् । विष्ट शाही कालमा मन्त्री थिए ।

सोमबारको प्रदर्शनबाट उत्साहित भएका राजावादीहरूले आगामी मंसिर २० गते पनि काठमाडौंमा कार्यक्रम गर्ने भएका छन् । सो कार्यक्रम ‘नेपालका लागि नेपाली’ नामबाट हुने बताइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था र हिन्दू राष्ट्रका पक्षमा हुने कार्यक्रम तथा -यालीमा सक्रिय सहभागी हुन कार्यकर्तालाई उर्दी जारी गरेको छ । सोमबार काठमाडौंमा भएको कार्यक्रममा राप्रपाका केन्द्रीय तथा जिल्ला तहका नेताहरू सहभागी भएका थिए । प्रदर्शनकारीले पृथ्वीनारायण शाहको तस्बिर अंकित प्ले कार्ड र राष्ट्रिय झण्डा बोकेका थिए । उनीहरूले राजा आऊ देश बचाऊ, हिन्दू राष्ट्र घोषणा गर, देशभर हल्ला छ, राजा ल्याउन सल्लाह छ जस्ता नारा लगाएका थिए ।  

कार्यक्रममा पार्टीको झण्डा बोकिएको थिएन । उनीहरूले राष्ट्रिय झण्डा बोकेका थिए । काठमाडौंको कार्यक्रमबाट आफू उत्साहित भएको राष्ट्रिय शक्ति नेपालका अध्यक्ष विष्टले बताए । ‘जनता स्वतःस्फूर्त आएका छन् । यसबाट हामी धेरै उत्साहित भएका छौं,’ विष्टले भने, ‘अहिलेको व्यवस्थाबाट जनता निराश भएका छन् ।’ सोमबारको -यालीमा शाहीकालमा मन्त्रीहरू श्रीषशमशेर राणा, दीपक ज्ञवालीसहित राजसत्ता पक्षधरको सक्रिय सहभागिता थियो । कार्यक्रममा नेपाली कांग्रेसका पुराना नेता विपिन कोइराला पनि पुगेका थिए । विष्टले भने, ‘अब हामी यस्तो कार्यक्रम देशव्यापी रूपमा गर्छौं ।’

राप्रपाका नेता भुवन पाठकले हिन्दू राष्ट्र स्थापना र राजतन्त्र पुनःस्थापना राप्रपाको अजेन्डा भएकाले सो अजेन्डा पूरा गर्न पार्टीले आफ्ना कार्यकर्तालाई सहभागी हुन निर्देशन दिएको बताए । शाहीकालका मन्त्री श्रीषशमशेर राणाले अहिलेको प्रदर्शनको मुख्य उद्देस्य २०४७ सालको संविधान ब्युझाउनु रहेको बताए । ‘जनता त्यत्तिकै उफ्रेका छैनन् । यसमा एउटा उद्देस्य छ,’ राणाले भने, ‘नेपाली जनता गणतन्त्रबाट वाक्कदिक्क भएका छन् ।’ विभिन्न पार्टीमा आबद्ध मान्छे र स्वतन्त्र व्यक्तिलाई समेत आउन सजिलो होस् भनेर अहिले पार्टीको झण्डा राख्ने नगरिएको उनले बताए ।  

काठमाडांैमा गरिएको प्रदर्शनमा सहभागी भएकी राप्रपाकी केन्द्रीय सदस्य निर्मला न्यौपानेले विभिन्न्न जिल्लामा विभिन्न संगठनको नामबाट कार्यक्रम हुने गरेको बताउँदै भनिन्, ‘जुन नामबाट कार्यक्रम गरे पनि राजतन्त्र र हिन्दू राष्ट्र पक्षधरहरू स्वतःस्फूर्त कार्यक्रममा आउने गरेका छन् ।’ गोरक्ष नेपाल र शिव सेना नामबाट पोखरामा कार्यक्रम गरिएको थियो । साथै आइतबार राजवादीहरूले मकवानपुरमा प्रदर्शन गरेका थिए ।

त्यसैगरी वीर गोरखाली, स्वतन्त्र राष्ट्रवादी, स्वतन्त्र देशभक्त नागरिकलगायत संघसंस्था राजतन्त्र पक्षधरको कार्यक्रममा सहभागी हुने गरेका छन् । राजवादीहरूले अहिलेसम्म्म कैलाली, जनकपुर, नेपालगञ्ज, पोखरा र मकवानपुरमा यस्ता कार्यक्रम गरिसकेका छन् । आगामी मंसिर २० गते झापामा कार्यक्रम राख्ने तयारी गरिएको छ । सो कार्यक्रमको आयोजना राप्रपाले गर्ने भएको छ ।  

राजावादीहरूको कार्यक्रम सुरुवात कात्तिक १७ गते बुटवलबाट भएको थियो । बुटवलको कार्यक्रममा जनताको सहभागिता भएपछि राजवादीहरू उत्साहित भएका हुन् । गणतन्त्रविरोधी तथा अहिलेको व्यवस्थाप्रति वाक्कदिक्क भएकाहरू पनि राजवादीको जुलुसमा सहभागी हुने गरेका छन् । पूर्वसभामुख दमननाथ ढुंगानाले प्रदर्शनमा राजवादीहरूले उठाएको नारा र दलहरूप्रति जनता दिक्क भएका छन् भन्ने दाबीलाई राजावादीहरूले आफ्नो किसिमबाट व्याख्या गरेको बताए । ‘यो भनेको आफ्नो–आफ्नो किसिमबाट गरिएको व्याख्या मात्र हो,’ उनले भने, ‘उनीहरू (राजावादी) ले आफ्नो हिसाबबाट व्याख्या गरिरहेका मात्र हुन् । लोकतन्त्रमा शान्तिपूर्ण किसिमबाट आफ्नो धारणा राख्ने छुट सबैलाई हुन्छ, यो भनेको संविधानको सम्मान पनि हो ।’ संविधानभित्र रही शान्तिपूर्ण प्रदर्शन गर्न पाउने सबैको अधिकार भएको उनको भनाइ छ ।  कांग्रेस नेता रामहरि खतिवडाले केपी ओली नेतृत्व सरकारले नै प्रतिगमनलाई आमन्त्रण गरेको बताए । कोरोना महामारीबाट मुलुक आक्रान्त भएका बेला प्रधानमन्त्री जनताको समस्याप्रति गम्भीर हुनुको साटो आन्तरिक कलह र केक काट्नमै व्यस्त रहेको आरोप लगाउँदै उनले भने, ‘कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारले नै राजावादीलाई स्थान दिने र प्रतिगमनलाई आमन्त्रण गर्ने काम गरिरहेको छ । जुन दुःखद कुरा हो ।’

कांग्रेसका सांसद् भीमसेनदास प्रधानले राजतन्त्र फर्काउनुपर्छ भनेर भइरहेको जुलुस तथा प्रदर्शनलाई धमिलो पानीमा माछा मार्ने खेल भएको आरोप लगाए । ‘अब नेपालमा राजतन्त्र फर्किंदैन । गणतन्त्र, धर्मनिरपेक्षता हाम्रो अजेन्डा हो । हामीले बोलेर यी परिवर्तन आएका हुन्,’ प्रधानले भने, ‘राजालाई पार्टी खोल्न चुनौती दिन्छु । त्यो हो डेमोक्रेसी हो । नीति तथा कार्यक्रम र भिजनसहित आउनुप-यो । तलबाट उठेर आउनुपर्छ ।’

प्रकाशित: १७ मंसिर २०७७ ०१:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App