राजनीति

'कि आरोप पुष्टि गर्दै मलाई कार्बाही गर्नुस् कि पार्टी एकता भंग गर्ने धृष्टताको जवाफदेही बन्नुस्'

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डमाथि प्रश्नको वर्षा गर्दै जवाफी प्रतिवेदन पेश गरेका छन्। प्रचण्डको प्रस्तावमाथि असन्तुष्टि पोखेका ओलीले राज्यको कानुन तथा पार्टी विधान अनुसार मलाई कार्बाही गर्नुस्, कि त आफ्नै सहयोद्धामाथि निराधार आरोप लगाएर पार्टी एकता भंग गर्ने धृष्टताको जवाफदेही बन्न तयार हुनु भन्दै चुनौती दिएका छन्।  

प्रधानमन्त्री ओली अध्यक्ष प्रचण्डलाई प्रश्न गर्दै भनेका छन्, 'कमरेड 'प्रचण्ड’, सुरुमै तपाईँलाई मेरो प्रश्न छ– पार्टीभित्र चलिरहेको यस वहसको चरित्र के हो ? यो स्वस्थ नीतिगत वहस हो कि 'वार कि पार’ को लडाइँ ? यो अन्तरविरोध नै हो भने पनि, यो मित्रतापूर्ण हो कि शत्रुतापूर्ण ? तपाईँले रोजेको बाटोवाद–प्रतिवाद–संवादको हो कि वाद–प्रतिवाद र विग्रहको ? एकता–छलफल र अझ उन्नतस्तरको एकतामा हिँड्न खोजिएको हो कि एकता– विग्रह र विघटनको बाटोमा? पार्टीभित्र हाम्रो सम्बन्ध पार्टीका दुई प्रमुख नेताको सम्बन्ध हो कि दुई भिन्न वर्ग र भिन्न पार्टीका प्रतिद्वन्द्वी नेताहरुको ? तपाईंले बारम्बार आफूलाई सहमतिको पक्षधर रहेको, सधैभरि त्यसको अगुवाइ गरेको स्वघोषणा गर्दै मलाई सहमति भंग गरेको आरोप लगाउने गर्नुभएको छ।'

ओलीले 'संविधान निर्माणपछि पूर्वसहमति अनुसार मेरो नेतृत्वमा संयुक्त सरकार बन्यो । हाम्रा बीचमा, सरकार बनाउने कुरामा मात्रै होइन, निर्वाचनसम्म सँगै जाने, संयुक्त रुपमा निर्वाचन लड्ने र निर्वाचनपछि पार्टी एकता गर्नेसम्मका सहमति भएका थिए । नाकाबन्दी जस्तो प्रतिकूल र इतिहासकै कठिन कालखण्डमा निर्माण भएको, राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र मुलुकको उज्ज्वल भविष्यका लागि युगान्तकारी काम गर्दै अगाडि बढेको सरकारलाई ढाल्न, सरकार गठन भएको सात महिना नबित्दै तपाईं स्वयं अग्रसर हुनुभयो । सहमतिका साथ अगाडि बढ्ने यावत् प्रयाश र प्रस्तावलाई लत्याएर आफैले प्रस्ताव गरेको, आफ्नै पार्टी सम्मिलित सरकारका विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न आफ्ना मन्त्री साथीहरुलाई झण्डा हल्लाउँदै जान निर्देशन दिनुभयो । यसो गर्दा तपाईंलाई नैतिकताको प्रश्नले अलिकति पनि छोएन है भनेर मैले कहिल्यै सोधिनँ,' भनेर प्रश्न गरेका छन्।  

प्रधानमन्त्री ओलीले स्थानीय चुनावमा सारा घेराबन्दीलाई तोड्दै नेकपा (एमाले) पहिलो शक्तिका रुपमा उदाएको पनि उल्लेख गरेका छन्। उनले भनेका छन्, 'दोस्रो संविधानसभामा कमजोर बनेको जातीय–क्षेत्रीय अतिवाद स्थानीय चुनावसम्म आइपुग्दा लगभग निस्तेज भयो । अवस्था यस्तो भयो कि, आफ्नै छोरीलाई जिताउन मतपत्र च्यात्ने लज्जास्पद उपायको सहारा लिनु पर्ने ठाउँमा तपाईंलाई पुर्‍यायो ।'

प्रतिवेदनको पूर्णपाठ:

प्रकाशित: १३ मंसिर २०७७ १०:५८ शनिबार

प्रधानमन्त्री