राजनीति

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले गरे प्रचण्डको कडा आलोचना

 

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार एवं नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कडा आलोचना गरेका छन्।  

अध्यक्ष ओलीसँगको विवादका क्रममा कार्यकारी अध्यक्ष प्रचण्डले शुक्रबार बालुवाटारमा बसेको सचिवालय बैठकमा ओलीको आलोचना गर्दै १९ पृष्ठ लामो प्रस्ताव प्रस्तुत गरेका छन्।

त्यही प्रस्तावलाई केन्द्रीय सदस्य थापाले ‘अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्टीकरण’को संज्ञा दिएका हुन्।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले त्यो प्रस्ताव फिर्ता नहुँदासम्म पार्टीको कुनै पनि बैठक नबस्ने चेतावनीसमेत दिएका छन्।  

‘अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयमा एकल रूपमा मनोमानीपूर्ण ढंगले बाँडेको अराजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्टीकरण हो,’ प्रेस सल्लाहकार थापाले शनिबार फेसबुकमा लेखेका छन्, ‘यस्तो लाञ्छनापत्रमाथि कमसेकम पार्टी कमिटीहरूमा छलफल हुन सक्दैन। पार्टी विधान, परम्परा, अभ्यास र दुवै जना अध्यक्षको सहमतिमा मात्रै कुनै पनि प्रस्ताव तयार भएर प्रस्तुत हुने पछिल्लो स्थायी समिति बैठकले समेत गरेको निर्णयको यो ठाडो उल्लंघन हो। यसलाई फिर्ता नगरी नेकपाका कुनै तहका बैठक र छलफल गर्ने त के संवाद पनि शत्रुवत् र निरर्थक बन्न पुगेको हुनाले अविलम्ब फिर्ता गरिनुपर्छ।’

यो पनि पढ्नुहोस्

प्रचण्डकाे प्रस्ताव फिर्ता हुनुपर्छ भनेपछि पोखरेललाई पुनको सुझावः आत्तिन र मात्तिन हुँदैन

प्रकाशित: २९ कार्तिक २०७७ १४:१० शनिबार

सूर्य थापा ओली-प्रचण्ड