राजनीति

फेरि सर्‍याे कांग्रेस बैठक

रिक्त समानुपातिक पदमा पाण्डेको नाम सिफारिस गरिने

सहमतिको प्याकेज निर्माण हुन नसक्दा बिहीबार बस्ने भनिएको कांग्रेस केन्द्रीय समिति बैठक फेरि शुक्रबारका लागि सारिएको छ। पार्टी नेता रामचन्द्र पौडेलसहित २७ केन्द्रीय सदस्यले उठाएका १६ बुँदे विरोधपत्रलाई सम्बोधन गर्न संस्थापन र असन्तुष्ट पक्षबीच समझदारी भए पनि सहमतिको प्रस्ताव अझै निर्माण हुन सकेको छैन।

दुवै पक्षका नेताहरू सम्मिलित अनौपचारिक कार्यदलले सहमतिको प्रस्ताव निर्माणका लागि गृहकार्य जारी राखे पनि बुधबार ठोस सहमति जुट्न नसकेपछि बैठक शुक्रबारसम्मका लागि सारिएको हो। पार्टीको १४औं महाधिवेशनको नयाँ मितिसहितको संशोधित कार्यतालिका, असन्तुष्ट पक्षले उठाएका विषयमा सहमति निर्माण हुन नसके शुक्रबारका लागि तय केन्द्रीय समितिको बैठकमा ती विषयले प्रवेश पाउनेछैनन्। केन्द्रीय कार्यालय सानेपामा १ बजेका लागि बोलाइएको बैठकले प्रतिनिधिसभाको समानुपातिकतर्फ पार्टीको रिक्त एक सांसदको नाम मात्र सिफारिस गर्नेछ। अन्य विषयमा भने तिहारपछि बस्ने बैठकले मात्र निर्णय लिनेछ।

सहमतिको प्याकेज निर्माणमा सक्रिय रहेका केन्द्रीय सदस्य मीनेन्द्र रिजालले मोटो छलफल भए पनि सहमति हुन बाँकी रहेको जानकारी दिए। त्यसका लागि बिहीबार बस्ने भनिएको केन्द्रीय समिति बैठक शुक्रबारका लागि सारिएको जानकारी दिँदै रिजालले भने, ‘सकेसम्म सबै विषय टुंगो लगाउने प्रयास भइरहेको छ। त्यस्तो हुन सकेन भने शुक्रबारको बैठकले पार्टीका तर्फबाट समानुपातिकमा रिक्त एक सांसदका लागि नाम सिफारीस गरेर अन्य कुरा तिहारपछिको बैठकले मात्र निर्णय लिन पनि सक्छ।’

कांग्रेस आमन्त्रित सदस्यसमेत रहेका सांसद सूर्यबहादुर केसीको निधनपछि प्रतिनिधिसभातर्फको एक समानुपातिक सांसद पद रिक्त छ। केसीको ठाउँमा रोलक्रमले स्याङ्जाका मोहन पाण्डे सांसद हुनेछन्। यसअघि कांग्रेसले असोज १९ गते पार्टीको १४औं महाधिवेशन, असन्तुष्ट पक्षले उठाएका विषयसहितका मुद्दामा छलफल गर्न केन्द्रीय समिति बोलाएको थियो। बैठकका लागि १५ गते गरेको कोरोना परिक्षणमा ६ जना केन्द्रीय सदस्यमा संक्रमण देखिएपछि २५ गतेका लागि सारिएको थियो। उक्त समितिमा पनि बैठक बस्न नसकेपछि कांग्रेसले कात्तिक २१ गतेका लागि बैठक बोलाएको थियो।

प्रकाशित: २७ कार्तिक २०७७ ०१:३६ बिहीबार

कांग्रेस बैठक कांग्रेस १४औं महाधिवेशन